(काठमाडौं) – राष्ट्रिय मानव अधिकार आयोगले यही जेठ १० गते पश्चिम रुकुममा भएको हत्या घटनाको छानबिन गर्न सरकारसँग माग गरेको छ ।
आयोगले मंगलबार विज्ञप्ति जारी गरी पश्चिम रुकुममा दलित युवकको हत्याबारे निष्पक्ष छानबिन गरी घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारसँग माग गरेको हो ।
घटनामा प्रभावकारी अनुसन्धानको लागि आयोगको कर्णाली प्रदेश शाखा कार्यालय, जुम्लाबाट स्थानीय प्रहरी प्रशासनलाई पत्राचार हुनुका साथै जिल्लास्थित मानव अधिकार अवस्था अनुगमन समितिबाट अनुगमन भइरहेको आयोगले जनाएको छ ।
सो घटनामा ज्यान गुमाएकाको परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन समेत आयोगले सरकारलाई निर्देशन दिएको छ ।
गत शनिबार पश्चिम रुकुममा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विकसहित ३ जनाको केटी पक्षको आक्रमणबाट जोगिन नदीमा हामफाल्दा मृत्यु भएको छ । तीन जना बेपत्ता छन् भने १२ जना घाइते भएका छन् ।