रासस/बंगलादेश – समयमै मानसिक रोगको उपचार भएमा सार्थक जीवन बिताउन सकिने मनोविद्हरुले जनाएका छन् । बंगलादेशको राजशाहीमा भएको ‘विकासात्मक अपाङ्गता’ सम्बन्धी सातौँ अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी विज्ञ तथा मनोविद्ले सो कुरा औल्याउँदै मानसिक स्वास्थ्यसम्बन्धी विषयलाई बेवास्ता नगरी प्रभावकारी रूपमा लैजानुपर्नेमा जोड दिए ।
मनोचिकित्सक, मनोविद्, विज्ञ तथा मनोविज्ञानको क्षेत्रमा काम गरिरहेका व्यक्ति र अध्ययनकर्ताले हरेक देशमा समस्याको पहिचान गरी सोही आधारमा उपचारात्मक पद्दति अपनाउनु आग्रह समेत गरेका छन् । सम्मेलनको दोस्रो दिनको सत्रमा नेपाली प्रतिनिधिले प्रस्तुत गरेको कार्यपत्रले समेत समस्याको पहिचान गरी समाधानका उपाय खोज्नुपर्ने विषयलाई जोड दिएको छ । समयमै पहिचान गर्न सके अपाङ्गता भएका व्यक्तिहरुले सार्थक जीवन जीउनसक्ने विज्ञ, मनोविद् तथा मनोविमर्शकर्ताको भनाइ छ ।
‘दक्षिण एशियामा अपाङ्गता र सांस्कृतिक लचकताको अवस्था’को विषयमा कार्यपत्र प्रस्तुत गर्दै द स्कूल अफ साइकोलोजी नेपालका संस्थापक अध्यक्ष पदमराज जोशीले नेपालमा भएको असल अभ्यास र चुनौतीका विषयमा जानकारी गराए । मानिस कुनै घटनाबाट आघात भएको अवस्थाबाट पहिलेकै अवस्थामा आउनु नै सांस्कृतिक लचकता हो । दक्षिण एशियामा सांस्कृतिक लचकता अन्य विश्वको तुलनामा बलियो देखिए पनि अनुसन्धानको अभावले वास्तविक अवस्था पत्ता लाग्न सकेको छैन । नेपालको सन्दर्भमा केही नगन्य अनुसन्धान भए पनि व्यवहारतः ती अनुसन्धान आम रूपमा शोधकर्ता, विद्यार्थी र अनुसन्धानकर्ताको रुचि कम भएको उनले बताए ।
द स्कूल अफ साइकोलोजी नेपालका अध्यक्ष मनोविद् डा नरेन्द्रसिंह ठगुन्नाले ‘दक्षिण एशियामा अपाङ्ता र आत्महत्या रोकथामको अभ्यास’को विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनीहरुको समस्या बेलैमा पहिचान गर्न सके आत्महत्याबाट जोगाउन सकिने बताए । उनले विश्वभरिका अपाङ्ता भएका व्यक्तिमा देखिएको मानसिक स्वास्थ्य समस्याजस्तै दक्षिण एशियामा पनि सामान्य मानिसभन्दा अपाङ्गता भएका व्यक्तिमा मानसिक समस्या बढी रहेको बताए ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा कूल जनसंख्याको १५ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । नेपालमा कूल जनसंख्यामा १.९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति रहेको तथ्याङ्क छ । शुक्रबार र शनिबार भएको सम्मेलनमा छ मुख्य विषयमा विभिन्न विज्ञ तथा प्राध्यापकले ६० कार्यपत्र प्रस्तुत थिए ।
सम्मेलनमा नेपाललगायत मलेशिया, चीन, स्पेन, बङ्गलादेश, अमेरिका, भारत, जापान, पोर्तुगल, श्रीलङ्का र स्वीडेनका पाँच सय प्रतिनिधि सहभागी थिए । अपाङ्गता भएकाको मानसिक स्वास्थ्यको वर्तमान अवस्था र समस्या समाधानमा अपनाउन सकिने उपायका बारेमा सम्मेलनमा छलफल भएको थियो । सामाजिक वैयक्तिक विकासका लागि सहकार्य (सिभ्यूस इन्टरनेशनल)को आयोजनामा उक्त सम्मेलन भएको थियो ।