पहिरोले गुल्मीको तम्घास–रिडी तथा रिडी वामीटक्सार सडक अवरुद्ध

69

काठमाडौं – गुल्मीको तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

त्यसैगरी तम्घास‐रिडी सडक अन्तरगत रुरुक्षेत्र गाउँपालिका–१ को रिडी–खज्र्याङ् सडक र तम्घास‐रिडी सडकअन्तर्गत रातामाटामा सडक माथिबाट चट्टानसहितको पहिरो खसेपछि गएरातिदेखि सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ उर्लीखोला नजिकै डहरेखोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सदरमुकाम तम्घास र वामीटक्सारदेखि बुटवल‐काठमाण्डौसम्म जाने लामो तथा छोटोदुरीका गाडी बीचबाटोमै अलपत्र परेका छन् ।

वर्षाका कारण गुल्मीको छत्रकोट गाउँपालिका–५ दुमैमा खोलामा आएको बाढीले स्थानीय रामबहादुर बुचाको घर बगाएको छ । बुचाको दुईतले घर बगाउँदा दुईवटा बाख्रा मरेका छन् । हावाहुरीसहित आएको पानीले मकैवालीमा समेत क्षती पुर्‍याएको छ ।

समाचार वर्गहरू