एजेन्सी – पाकिस्तानको विशेष अदालतले यहाँका पूर्व राष्ट्रपति तथा सैन्य शासक परवेज मुसरर्फलाई मृत्युदण्डको सजाय सुनाएको छ । देशद्रोहको मुद्दामा पूर्व राष्ट्रपति मुसरर्फलाई यहाँको विशेष अदालतले मंगलबार मृत्युदण्डको सजाय सुनाएको हो ।
पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठको अध्यक्षतामा विशेष अदालतका तीन सदस्यीय इजलासले उनलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
मुसरर्फ हाल दुबईमा छन् । सन् २०१६ मा अदालतले उनलाई उपचारका लागि देश छाड्न अनुमति दिएको थियो ।
सन् १९९९ मा सैन्य ‘कु’ गरी सत्ता हातमा लिएका उनी सन् २००१ देखि सन् २००८ सम्म यहाँको राष्ट्रपतिका रुपमा रहेका थिए ।
३ नोभेम्बर २००७ मा संकटकालीन स्थितिका लागि मुसर्रफलाई सन् २०१४ मार्च ३१ मा दोषी ठहर गरिएको थियो ।
पाकिस्तानको इतिहासमा संविधानको अपहेलना गरेको मुद्दा लाग्ने उनी पहिलो व्यक्ति समेत हुन् । सन् २०१३ को निर्वाचनमा विजयी भएपछि नवाज सरिफ नेतृत्वको सरकारले मुसरर्फविरुद्ध संविधानको अपहेलना सम्बन्धी मुद्दा दायर गरेको थियो ।