पार्टीलाई एकताबद्ध बनाएर लैजान मैले सक्दो लचकता अपनाइरहेको छु – गगन थापा

77

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर लैजान आफूले सक्दो लचकता अपनाइरहेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टीलाई मिलाउन आफूभन्दा भन्दा अगाडिका सभापतिहरूले देखाएको उदारताबाट सिकेको बताए ।

उनले भने, ‘सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु। पार्टीका नेताहरूले पनि यो समस्या बल्झाउने मात्र होइन । समस्यालाई समाधान नै गरेर जानुपर्छ भन्ने कुराहरूको सन्दर्भमा उहाँहरूको पनि भूमिका रहोस् भन्ने कुराको पनि अपेक्षा गर्छु। त्यसो गर्दा–गर्दै आफ्नै घर हो, आफ्नै पार्टी हो, यसलाई मिलाएर लिएर जान सकिन्छ ।’

उनले कांग्रेस भन्नासाथ अहिले भेला र छलफलको कुरा मात्रै आइरहेको बताए । उनले अगाडि भने, ‘कांग्रेस पार्टी भनिसकेपछि कहीँ कसैले पत्रिका पल्टाए हेर्‍यो भने यहाँ भेला भयो, यहाँ छलफल भयो। यसको–यसको कुरा मिलेन। यसको कुरा मिल्यो। बाहिरबाट एउटा मान्छेले हेर्दै गर्दा मानौँ कांग्रेस पार्टीको सारा समय त्यहीभित्रको झगडा मिलाउने कुरामा भइरहेको छ। तर यो सेकेण्डरी कुरा हो। यो महत्त्वपूर्ण छ, तर यो होइन ।’

सभापति थापाले भने, ‘हामी अहिले सङ्घको प्रमुख प्रतिपक्षी दल हौँ। सरकारको जति जिम्मेवारी हुन्छ, त्यत्तिकै जिम्मेवारी प्रतिपक्षी दलको पनि हुन्छ। प्रतिपक्षी अलिकति मात्रै चुक्यौं र ठीक भूमिका निर्वाह गर्न सकेनौं भने लोकतन्त्र लर्खराउँछ।’

उनले जनताले निर्वाचनमार्फत प्रतिपक्षीलाई सरकारलाई उत्तरदायी बनाउने र ठीक ठाउँमा उभ्याउने म्यान्डेट दिएको उल्लेख गरे।

सरकारको रवैया र प्रवृत्तिको आलोचना गर्दै थापाले अलोकतान्त्रिक कार्यहरूमा डटेर प्रश्न उठाउने प्रतिबद्धता जनाए। उनले थपे, ‘सरकारले गर्ने ठीक काममा हामी मद्दत गर्छौँ तर सरकारको प्रवृत्ति अलोकतान्त्रिक हुँदै गएमा त्यसलाई प्रश्न गर्ने र ठीक ठाउँमा ल्याउने हाम्रो कर्तव्य हो।’

समाचार वर्गहरू