काठमाडौं – पार्टीको आधिकारिकता दावी गर्न जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्ष निर्वाचन आयोग पुगेको छ ।
निर्वाचन आयोगले एक अर्काले गरेको कारवाहीमा दावी नपुगेको भन्दै जसपाका पदाधिकारी पूर्ववत् अवस्थामै रहने भनेपछि यादव पक्ष आफ्नो दाबी सहित आयोग पुगेको हो ।
अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई लगायतका नेताहरु शुक्रवार आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् । राजनीतिक दल सम्बन्धी ऐन–२०७३ को दफा ४३ अनुसार दलको वैधानिकता दावी गर्दै फेरि आयोग गएका हुन् ।
केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षर सहित आयोग पुगेको जसपाका एक नेताले जानकारी दिए ।