अनु खनाल/पाल्पा – पाल्पा जिल्लामा नेपाल टेलिकमले आफ्नो सेवा बिस्तार गर्ने क्रममा 4G सेवालाई प्रथमिकतामा राखेको छ । नेपाल टेलिकम दूरसंचार कार्यालय पाल्पाले तानसेनमा सेवा दिइरहेको फाइवर इन्टरनेटका ग्राहक संख्या दिनानुदिन बढिरहेका छन् ।
२ बर्ष अघिदेखि वितरण गर्न सुरु गरेको फाइवर इन्टरनेट गत साउन महिना सम्ममा २४०० भन्दा बढी ग्रहककोमा जडान भएको नेपाल टेलिकम पाल्पाका प्रमुख ढाकाराम पौड्यालले जानकारी दिए । एउटै तारबाट ३ वटा सेवाहरु (टेलिफोन, इन्टरनेट र टेलिभिजन) दिइएकाले पनि ग्राहकको आकर्षण थप बढेको कुरा पनि प्रमुख पौड्यालले बताए ।चालु आर्थिक बर्षमा पाल्पाको बर्तुंग, प्रभास, दमकडा-सराइ-खहरे र रामपुरमा समेत फाइवर नेटवर्कको काम भइ सेवा संचालन गरिने कार्यालय प्रमुख पौड्यालले बताए ।
हाल नेपाल टेलिकमको इन्डिभिजुअल अफर तर्फ फाइवर इन्टरनेटमा ८ एमबिपिएस देखि ५० एमबिपिएस सम्मका ब्याण्डविथ उपलब्ध छन् भने कर्पोरेट ग्राहक तर्फ १० र २० एमबिपिएसको डेडीकेटेड ब्याण्डविथ उपलब्ध छन् । ल्याण्डलाइन ग्राहकहरुका लागि न्युनतम मासिक शुल्क बुझाउन नपर्ने गरि १५ एमबिपिएस देखि ६० एमबिपिएस सम्म इन्टरनेट र टेलिभिजन सहितको कम्बो अफर पनि उपलब्ध रहेको जानकारी नेपाल टेलिकम दूरसंचार कार्यालय पाल्पाका सूचना अधिकारी श्रीराम रेग्मीले दिए ।
यस्तै नेपाल टेलिकम दूरसंचार कार्यालय पाल्पाले फोरजी विस्तारको काम पनि जारी राखेको छ । गत आर्थिक बर्षमै जिल्लाको दुवै नगरपालिका सहित सबै गाउँपालिकाहरुमा फोरजी सेवा पुर्याएको टेलिकमले यस बर्ष हुमिन, गाँडाकोट, जुठापौवा, दर्छा, फेक, बाकामलाङ्ग लगायतका क्षेत्रमा सेवा विस्तारका लागि नयाँ नेटवर्क जडान गर्न लागेको कार्यालय प्रमुख पौड्यालले जानकारी दिए ।
हाल कोभिडका कारण विद्यालयमा पठनपाठन बन्द भएपछि अनलाइन कक्षा संचालन गर्न नेपाल टेलिकमले शिक्षक तथा विद्यार्थीहरुका लागि सियुजी पाठशाला सेवा शुरु गरेको छ । नेपाल टेलिकम पाल्पाका सेल्स तथा व्यापार शाखा प्रमुख भुपति तिवारीका अनुसार हालसम्म पाल्पा जिल्लाका ११५ विद्यालयका १२५४ शिक्षक र ११३५६ विद्यार्थीहरुले यो सेवा लिइरहेको जानकारी दिए । यो सेवा लिन विद्यार्थी तथा शिक्षकले आफुले प्रयोग गरिरहेको सिम वा नेपाल टेलिकमबाट नयाँ निशुल्क सिम लिन सक्नेछन् ।
सिमलाई सियुजी ग्रुपमा आवद्ध गर्न विद्यालयको पत्र, सम्बन्धित स्थानिय निकायको सिफारिस, सिम नम्बर लिष्ट र सियुजी सेवा शुल्क बुझाउनुपर्ने हुन्छ । यो सेवा लिइसकेपछि सो समुहभित्र अनलिमिटेड निशुल्क कल गर्न साथै ८ जीबी डाटा र १०० वटा एसएमएस उपलब्ध हुने छ । अनलाइन कक्षाका लागि यो सिमबाट Happy Learning pack र e-sikshya pack पनि लिन सकिन्छ ।