पोखरा – दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल)मा पोखराले सुखद सुरुवात गरेको छ । पोखरा रंगशालामा आइतबार भएको खेलमा काठमाडौं गोल्डेनलाई ९ विकेटले पराजित गर्दै पोखरा विजयी भएको हो ।
काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको पोखराले १४ ओभर १ बलमा मात्र १ विकेट गुमाएर १ सय १९ रन बनायो ।
पोखराको जितमा ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले । ४३ बल खेलेका उनले अविजित ६५ रन बनाए । पोखराका लागि रबिइन्दर सिंहले अविजित रहँदै ३८ रन जोड्दा आसिफ शेखले १४ रन बनाए । काठमाडौँका सुशन भारीले आसिफ सेखको १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो । काठमाडौंका लागि सुबोध भाटीले सर्वाधिक ४५ रन बनाए । गौरभ तमोरले १३ तथा सुशन भारीले १० रन बनाउनु बाहेक काठमाडौंका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
पोखराका लागि ललित राजवंशी तथा कुशल मल्लले दुई तथा प्रभामेश डाके, रासिद खान र सर्बजित लड्डाले एक–एक विकेट लिए ।
प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछ ।