(काठमाडौं) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी ट्वेन्टी क्रिकेटका लागि पोखरा पल्टनले कुशल मल्ललाई सर्वाधिक मूल्यमा किनेको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले सोमबार आयोजना गरेको खेलाडी ’रिलिज र रिटेन’ कार्यकमबाट कुशललाई पोखराले १ लाख ५० हजारमा क्लबमा अनुबन्ध गरेको हो ।
उनलाई भित्र्याउन पोखरासँगै, चितवन राइनोज, विराटनगर टाइटन्स र बुटवल ब्लास्टर्सले इच्छुक देखाएका थिए । मंसिर २८ देखि पुस १२ गतेम्म हुने दोस्रो संस्करणको पिपिएलका लागि ६ वटै फ्रेन्चाइज टिमले समान ३–३ खेलाडी रिलिज गर्दा समान २–२ खेलाडी किनेका हुन् ।
साविक विजेता पोखराले कुशल मल्ल र आकाश चन्दलाई किनेको छ । पोखराले आकाशलाई ५० हजारमा भित्र्याएको हो । पोखराले रिलिज गरेको खेलाडीमा दिपेश खत्री, विक्रम भूषाल, दिव्यांशु मालिक रहेका छन् । यस्तै विक्रम सोबलाई चितवन राइनोजले १ लाख ३० हजार र बिक्रम भुसाललाई ५० हजारमा क्लबमा भित्र्याएको हो ।
राष्ट्रिय टिमका पूर्व सदस्य सुवास खकुरेल र अमृत भट्टराईलाई काठमाडौं गोल्डेन वारिवर्सले ५०र५० हजारमा अनुबन्ध गरेको छ । एक्पर्ट्स धनगढी ब्लुजले सुनम गौतम र अनिल खरेललाई समान ५०/५० हजारमा अनुबन्ध गरेको छ । त्यस्तै शेर मल्ललाई ५० र कमल खत्रीलाई ३० हजारमा बुटवल ब्लास्टरले टिममा अनुबन्ध गर्दा विराटनगर टाईटन्सले दिलिप नाथलाई ७५ हजार र लोकेश बमलाई ५० हजारमा अनुबन्ध गरेको छ ।
पोखरा रंगशालामा हुने पीपीएल मंसिर २८ देखि पुस १२ सम्म हुनेछ । प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्ने छन् । पीपीएलमा विराटनगर टाईटन्स,चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर,काठमाडौं गोल्डेन वारिवर्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् । पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जितेको थियो ।
गत संस्करणको विजेताले २७ लाख प्राप्त गरेको थियो । उपविजेता बनेको चितवनले १० लाखमा चित्त बुझाएको थियो । यस संस्करणको विजेता र उपविजेताले पाउने रकम भने खुलाईएको छैन ।