पीपीएल प्रतियोगिता एक महिना पछि धकेलियो

17

(काठमाडौं) –  पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको मिति एक महिना सरेको छ । कार्तिक अन्तिम साता हुने भनिएको प्रतियोगिताको मिति विभिन्न कारण देखाउँदै मंसिर अन्तिम साता सम्मलाई सारिएको हो । सोमबार एक विज्ञप्ति जारी गर्दै आयोजकले पीपीएलको मिति सरेको जनाएको हो ।

यसअघि कात्तिक २६ गतेदेखि मंसिर सात गतेसम्म पोखरा मैदानमा आयोजना हुने भनिएको पीपीएल अब मंसिर २८ गतेदेखि पुस १२ गतेसम्म आयोजना हुने क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले जानकारी दिएको छ ।

पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको क्वीन्सले दोस्रो संस्करणको यसअघि नै मिति तोकेपनि १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको महिला क्रिकेटको तयारी पोखरा मैदानमै हुने र मेर्लीबर्न क्रिकेट क्लब (एमसीसी) ले काठमाडौं र पोखरामा मैत्रीपूर्ण खेल नोभेम्बर एक देखि १२ सम्म खेल्ने भएकाले मिति परिवर्तन गरिएको आयोजकले जनाएको छ ।

त्यस्तै, यही समयमा नेपालका यू–१९ क्रिकेट टिमले भारत भ्रमणमा रहने भएकाले प्रतियोगिताको मिति सार्नु परेको विज्ञप्तिमा उल्लेख छ ।

पोखरामा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टिम रहेका छन् । जसमा साविक विजेता पोखरा पल्टनसँगै, विराटनगर टाइटान्स, बुटवल ब्लास्टर, चितवन राइनोज, काठमाडौं रोयल्स र धनगढी ब्लुस रहेका छन् ।

समाचार वर्गहरू