(काठमाडाैं) – १३ औं साग अन्तर्गतको पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाली राष्ट्रिय टोली बंगलादेशसँग ४४ रनले पराजित भएको हो ।
बंगलादेशसँगको हार सँगै नेपालको स्वर्ण सपनामा सकिएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशको यू-२३ टिमसँग ४४ रनले पराजित भएसँगै नेपालको स्वर्ण सपना समाप्त भएको हो ।
बंगलादेशले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ११ रनमा समेटियो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले १६ र अविनाश बोहोराले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका ब्याट्सम्यानलाई सस्तैमा आउट गर्ने क्रममा बंगलादेशका सौम्य सरकार, सुमन खान, तनवीर इस्लाम र महेदी हसनले समान २/२ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो ।
बंगलादेशका लागि नजमुल हुसैन शान्टोले सर्वाधिक ७५ रन बनाउँदा आफिफ हुसैनले २८ बलमा ५२ रन जोडे ।
नेपालका लागि पारस खड्काले ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । चार खेलमा दुई जित र दुई हार व्यहोरेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
नेपालले ४ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा श्रीलंकासाग पराजित नेपालले दोस्रो खेलमा भुटानमाथि कीर्तिमानी जित निकालेको थियो । यस्तै शुक्रबार माल्दिभ्सलाई सहजै पराजित गरेको थियो । बंगलादेश यू २३ ले ३ खेलमा ३ जित हात पार्दै ६ अंकका साथ तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
यस्तै श्रीलंका यू २३ समेत ३ खेलमा ६ अंकका साथ् तालिकाको दोस्रो स्थानमा छ । श्रीलंका र बंगलादेश एक खेल अगावै फाइनल प्रवेस गरेका छन् । अब नेपालले कास्य पदकको लागि माल्दिभ्ससंग खेल्ने छ ।