सिन्धुपाल्चोक – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सुचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले खाडिचौरको सिन्धु सदावहार अस्पतालमा ५० बेडको अस्पतालको उद्घाटन गरेका छन् ।
बस्नेतले सुनकोसी गाउँपालिका र सिलंखु गाउँपालिकाले सञ्चालनमा ल्याएको २५ बेडको कोभिड उपचार केन्द्र र आफैले सञ्चालनमा ल्याएको २५ बेडको गरी ५० बेडको कोभिड उपचार केन्द्रको मंगलबार उद्घाटन गरेका हुन् ।
जिल्लामा १ महिनाभित्र १ सय बेडको कोभिड अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता अनुसार बस्नेतले मंगलबार सिन्धु सदावहारमा २५ र चाकुमा १३ गरी ३७ बेडको कोभिड उपचार सेवा केन्द्र सञ्चालनमा ल्याएका हुन् । कोभिड उपचार सेवा केन्द्र सञ्चालनका लागि बेडसहित अक्सिजनको व्यवस्था समेत गरिएको छ ।
अहिले सिन्धु सदावहारका स्वास्थ्यकर्मीबाटै कोभिड उपचार केन्द्र सञ्चालन गर्ने बताएपनि आवश्यक अनुसार चिकित्सकसमेतको व्यवस्था गर्ने बस्नेतले बताए ।
यस्तै बस्नेतले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा पनि १० वटा बेड र १० वटा अक्सिजन दिने प्रतिवद्धता जनाएका छन् । आवश्यकता अनुसार अन्य ठाउँमा पनि बेडसहित कोभिड उपचार केन्द्र स्थापना गर्ने उनको लक्ष्य छ ।
जिल्लाका सबै स्थानीय तह र स्वास्थ्य संस्थामा बस्नेतले यसअघि स्वास्थ्य सामग्री वितरण गरेका थिए । गतबर्षदेखीनै नेता बस्नेत महामारीको समयमा बस्ति-बस्ति पुगेर नागरिकको सेवामा सक्रिय छन् ।