पुष्पमेलामा ५० लाख भन्दा बढीको कारोबार

20

(काठमाडौं)  – फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) द्वारा आयोजित गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा लिएको लक्ष्यभन्दा बढीको कारोवार भएको छ । शुक्रवारदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा शुरु भएको १३ औ पुष्प मेलामा साढे ५६ लाख रुपैयाँको कारोबार भएको छ ।

चार दिनसम्म चल्ने मेलामा ५० लाखको कारोबार गर्ने लक्ष्य लिएको थियो तर आइतबार तेस्रो दिनमा नै साढे ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको फ्यानका महासचिव विष्णु पौडेलले जानकारी दिए । पहिलो दिन छ हजार पाँच सयजनाले अवलोकन गरेका थिए भने १२ लाख रुपियाँको कारोवार भएको थियोे ।

शनिबार १५ हजार जनाले अवलोकन गरेका थिए, जसमा २५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार १० हजारले मेला अवलोकन गरेका थिए भने साढे १९ लाख रुपैयाँको कारोबार भएको महासचिव पोखरेलले जानकारी दिए । सोमबार अन्तिम दिन कारोबार झनै बढ्ने अनुमान गरिएको उनले बताए । विगतको अनुभव हेर्दा अन्तिम दिन अवलोकनकर्ताहरु अलि बढी आउने गरेको र कारोवार पनि बढी हुने गरेको उनको अनुमान छ ।

प्रदर्शनीमा व्यावसायिक स्टल ४४, सूचनामूलक ४ र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित कुल ४९ वटा स्टल रहेका छन् । यसवर्षको मेलामा विभिन्न मुलुकबाट माउबोटका रुपमा आयात गरी उत्पादन विस्तार गरिएका करीब १६ नयाँ प्रजातीका गोदावरी फूल समेत प्रदर्शनीमा राखिएको महासचिव पोखरेलले जानकारी दिए । प्mयानले मेलामा सहभागी उत्कृष्ट नर्सरीलाई पुरस्कृत गरेको थियो ।

सम्झना नर्सरीले विभिन्न विधामा ४ वटा पुरस्कार प्राप्त गरेको छ । गोदावरीको प्रतियोगितात्मक प्रदर्शनीमा सम्झना नर्सरी पहिलो, टिपीआर मितेरी नर्सरी दोस्रो र टिटिआर बंगलामुखी नर्सरीले तेस्रो भएका थिए । त्यस्तै मिनियचरतर्फ अजिमा नर्सरी र कट्फलावरतर्फ सिर्जना कट फ्लावर नर्सरी पुरस्कृत भएका थिए ।

नेपालमा २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसायले आ.ब. २०७५/७६ सम्म आईपुग्दा सतसय भन्दा बढी पुष्प व्यवसायीहरुद्वारा यस व्यावसायीमा संलग्न रहेका छन् । यो व्यावसाय ४३ जिल्लामा विस्तार भएको छ । १५७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको जानकारी दिंदै उनले यस व्यावसायमा ४३ हजार पाँचसय भन्दा बढी जना प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेको बताए ।

समाचार वर्गहरू