पुष्प मेलामा दुई दिनमा ३७ लाखको कारोबार

14

(काठमाडौं) । गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा दुई दिनमा ३७ लाख रुपैयाँ बराबरको फूलको कारोबार भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा शुक्रबारदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा सुरु भएको १३ औं पुष्प मेलामा दुई दिनमा सो ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

मेलामा पहिलो दिन छ हजार पाँच सय जनाले अवलोकन गरेका थिए भने १२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । शनिबार १५ हजार जनाले अवलोकन गरेका छन् जसमा २५ लाखको कारोबार भएको फ्यानका महासचिव विश्वमणी पोखरेलले जानकारी दिए ।

कार्तिक चार गतेसम्म चल्ने पुष्प मेलामा ५० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान आयोजकको छ । प्रदर्शनीमा व्यावसायिक स्टल ४४, सूचनामूलक ४ र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित कुल ४९ वटा स्टल रहेका छन् । यसवर्षको मेलामा विभिन्न मुलुकबाट माउबोटका रुपमा आयात गरी उत्पादन विस्तार गरिएका करीब १६ नयाँ प्रजातिका गोदावरी फूलसमेत प्रदर्शनीमा राखिएको महासचिव पोखरेलले जानकारी दिए ।

मेलामा सहभागी उत्कृष्ट नर्सरीलाई पुरस्कृत गरेको थियो । सम्झना नर्सरीले विभिन्न विधामा ४ वटा पुरस्कार प्राप्त गरेको छ । गोदावरीको प्रतियोगितात्मक प्रदर्शनीमा सम्झना नर्सरी पहिलो, टिपीआर मितेरी नर्सरी दोस्रो र टिटिआर बंगलामुखी नर्सरीले तेस्रो भएका थिए । त्यस्तै, मिनियचर तर्फ अजिमा नर्सरी र कट्फलावर तर्फ सिर्जना कट फ्लावर नर्सरी पुरस्कृत भएका थिए ।

नेपालमा २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसायले आर्थिक वर्ष २०७५÷७६ सम्म आईपुग्दा ७ सय भन्दा बढी पुष्प व्यवसायीहरुद्वारा यस व्यावसायीमा संलग्न रहेका छन् । यो व्यवसाय ४३ जिल्लामा विस्तार भएको छ । १५७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको जानकारी गराउँदै उनले ४३ हजार पाँच सय भन्दा बढी जना प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेको बताए ।

समाचार वर्गहरू