काठमाडौं – सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रन्जन कोइरालाविरुद्धको जन्मकैद घटाउने फैसला सर्वोच्च अदालतले उल्ट्याएको छ।
बिहीबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरु टंक मोक्तान र कुमार चुडालको इजलासले सो निर्णयलाई उल्टाएर २० वर्ष नै कायम गरिदिएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जन्मकैदको सजायलाई ८ वर्ष ६ महिनामा घटाउने राय बदर भएको बताए।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले जन्मकैदको सजाय भोगिरहेका पूर्वडीआईजी कोइरालाको सजाय घटाएर ८ वर्ष ६ महिनामा झारेको थियो।
पत्नी हत्याको अपराध सावित भएपनि प्रधानन्यायाधीशसमेतको इजलासले १२ वर्ष सजाय घटाइदिएपछि कोइराला २०७७ साउन ८ गते जेलमुक्त भएका थिए।