काठमाडौं – पूर्वमन्त्री गोविन्दराज जोशीसमेत प्रतिवादी रहेको लगाउका सात मुद्दामा सर्वोच्च पुगेको १२ वर्षपछि सुनुवाइ सुरु भएको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले १ जेठदेखि सातै मुद्दालाई हेर्दाहेर्दैमा राखेर अन्तिम फैसला दिने गरी सुनुवाइ गरिरहेको हो । सुनुवाइ भइरहेका मुद्दाहरू सर्वोच्चमा ०६९ फागुनदेखि ०७० साउनसम्म दर्ता भएका थिए ।
गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा सरकारका तर्फबाट ताराराज पाण्डेविरुद्ध एक र गोविन्दराज जोशीसमेत ६ जनाविरुद्ध अर्को गरी दुई मुद्दा दायर भएका छन् ।
नेपाल आयल निगमका पूर्वमहाप्रबन्धक युवराज शर्माको मुद्दामा फैसला आएपछि आय गणनाका विषय जोडिएका भ्रष्टाचारका अन्य मुद्दाहरूमा सुनुवाइ हुने बाटो खुलेको हो । शर्माको मुद्दा ९ चैत ०६९ मा दर्ता भएकोमा सर्वोच्चको पूर्ण इजलासबाट २८ असार ०७९ मा टुंगिएको थियो ।
ताराराज पाण्डेको नाममा रहेको घरजग्गा भने जोशीको आयबाट खरिद गरिएको देखिएकाले जफतको फैसला विशेषले गरेको थियो । यस मुद्दाका प्रतिवादीहरू निरकुमारी पन्त र रामकृष्ण तिवारीले भने सफाइ पाएका थिए । यसैगरी, दिनेशराज जोशीको नाममा रहेको सम्पत्ति जफत हुने फैसला भएको थियो ।
सोही फैसलाविरुद्ध चित्त नबुझेका पक्षहरू सर्वोच्च पुगेका थिए । जोशीले प्रतिनिधिसभा विघटन भएकाले आफू कुनै सार्वजनिक पदमा बहाल नरहेको दाबी गर्दै पुनरावेदन दर्ता गराएका थिए ।