काठमाडौं – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको परिवारको नागरिकताबारे पूर्व राष्ट्रपति डा रामवरण यादवले गरेको दाबीले नागरिकता जारी मितिमा थप शङ्का बढाएको छ।
नेपाल पत्रकार महासङ्घ कास्कीको अधिवेशनमा बोल्दै डा यादवले सार्वजनिक कार्यक्रममा हेमराज ज्ञवाली धनुषाको प्रमुख जिल्ला अधिकारी भएको बेलामा घासिराम परिवारको नागरिकता बनेको दाबी गरे।
कैलाश सिरोहियाका बाबु घासिराम माडवारीसँग परिचित उनका जेठो दाइका साथी समेत रहेका डा यादवले घासिरामको परिवार सय वर्ष अगाडि नेपाल आएको र जेन्युन नेपाली भएको बताए।
डा यादवले कैलाशका बुबा घासीराम माडवारी निकै सज्जन व्यक्ति भएको र उनले लामो समयसम्म पनि नेपाली नागरिकता नपाएपछि हेमराज ज्ञवाली धनुषाको प्रमुख जिल्ला अधिकारी भएर आएपछि नागरिकता बनेको बताए।
२०३७ को सिडिओले ३६ सालको मितिमा कसरी दिए नागरिकता ?
२०३३/२०३४ को रेकर्डमा विदेशीबाट जन्मिएकाहरूको विवरण बाहेक प्रहरीले हालसम्म घासीराम माडवारिको नागरिकता सम्बन्धी विवरण फेला पारेको छैन। जग्गाधनी पुर्जा भने फेला पारेको छ जसमा २०१८ असार १ मा नागरिकता लिएको उल्लेख छ। बहसकोक्रममा सिरोहियाका पक्षका अधिवक्ताहरूले २०१० मा नागरिकता लिएको दाबी गरेका थिए।
कैलाश सिरोहियाले सार्वजनिक गरेको नागरिकतामा २०३६ सालमा नागरिकता लिएको मिति उल्लेख छ। तर २०३७ फागुन १९ को राजपत्र अनुसार हेमराज ज्ञवाली २०३७ कात्तिक १७ मा धनुषाको प्रमुख जिल्ला अधिकारी भएको देखिन्छ।

हेमराज ज्ञवाली धनुषाको सिडिओमा सरुवा भएकोबारे राजपत्रमा प्रकाशित सूचनाडा यादवले दाबी गरे अनुसार हेमराज ज्ञवालीको पालामा सिरोहिया परिवारको नागरिकता बनेको हो भने २०३७ पछिको मिति हुनुपर्ने देखिन्छ।
नागरिकतामा देखिएको कैफियतको अनुसन्धान गर्न प्रहरीले सिरोहियालाई पक्राउ गरेकोमा डा यादवले असन्तुष्टि जनाए।
उनले सिरोहिया पक्राउको काम विधि सम्मत नभएको र कतै केही भएको भए पत्र काटेर हाजिर गराएर सच्याउन सकिनेमा पक्राउ गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।