काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रेताहरुको कमिसन वृद्धि गरेको छ । निगम सञ्चालक समिति बैठकले विक्रेताहरुले यसअघि पाउँदै आएको कसिमन वृद्धि गर्ने निर्णय गरेको हो ।
आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनबीच शनिबार भएको छलफलमा निगमका आधिकारिक विक्रेताहरुले सावकिमा पाईरहेको पेट्रोलमा शून्य दशमलव ३९५ र डिजेलमा शून्य दशमलव ४७ प्रतिशत कमिसन वृद्धि गर्ने सहमति भएको हो ।
अहिले बिक्रताले पेट्रोलमा कुल मूल्यको ३ प्रतिशत र डिजेलमा २.६५ प्रतिशत कमिसन पाउँछन् । यो निर्णयसँगै व्यवसायीको कमसिन प्रतिलिटर डिजेलमा २१ र पेट्रोलमा १२ पैसा कवृद्धि हुनेछ भने एक ट्यांकर पेट्रोलमा २४०० र डिजेलमा ४ हजार २०० रुपैयाँ थप हुनेछ ।
व्यवसायीको कमिसन बृद्धिका कारण डिजेल र पेट्रोलको उपभोक्ता मूल्यमा औषत ३६ पैसा समायोजन हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
उनका अनुसार प्राविधिक क्षति बापत व्यवसायीले पाउँदै आएको जर्ति सुविधा भने स्थगन गरिएको छ । १२ हजार लिटरमा ३० लिटर जर्ति सुविधा दिने गरिएको थियो ।
विक्रेताको प्राविधिक नोक्सानी सम्बन्धमा पेट्रोल र डिजेलमा दिई आएको क्रमश: १० लिटर प्रति ४ किलोलिटर र डिजेलमा ३ लिटर प्रति ४ किलोलिटर जर्ती हाललाई स्थगन गरिएको निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए ।
निगमले विक्रेताको प्राविधिक नोक्सानीको विस्तृत अध्ययन गर्न काठमाडौं विश्वविद्यालयको प्राविधिक विज्ञतालाई अनुरोध गरेको थियो । सो कार्यलाई अघि बढाउन नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक एवं निगम सञ्चालक समितिका सदस्यको संयोजकत्वमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशनका दुई जना प्रतिनिधि, र निगमका तर्फबाट वरिष्ठ पदाधिकारी सदस्य रहने गरी एक उच्चस्तरीय कमिटी गठन गर्ने सहमति पनि भएको छ ।
