काठमाडौै – ताप्लेजुङको फुङलिङ नगरपालिका– ८ का वडाध्यक्ष क्षितिज सुनुवार पोषण सामग्री बोकेर सुत्केरीको घरमा पुगेका छन् । वडाले सुत्केरीको घरमै पुगेर पहिलोपटक हरिकला थापामगरलाई पोषण सामग्री उपलब्ध गराएको हो ।
वडाध्यक्ष सुनुवारले सुत्केरीलाई जनही पाँच हजार रुपैयाँबराबरको विभिन्न पोषण सामग्री घर–घर पुगेर वितरण गरिएको बताए । सुत्केरीलाई एउटा कुखुरा, घिउ, अन्डा, हर्लिक्स, चना, मटर, ज्वानो, तेल, साबुनसहितका सामग्रीको प्याकेट सुत्केरीकै घरमा पुगेर उपलब्ध गराएको उनको भनाइ छ ।
घोषित कार्यक्रमअनुसार सुत्केरीलाई घर–घरमै पुगेर विभिन्न पोषण सामग्री वितरण गर्न थालिएको फुङलिङ नगरपालिकाको सामाजिक विकास समितिका संयोजकसमेत रहेका वडाध्यक्ष सुनुवारले बताए ।
नगरपालिकाले वडाका सुत्केरी महिला तथा मृतक परिवारका सदस्यलाई किरिया खर्च उपलब्ध गराउने गरी चालू आव ०८१/८२ का लागि बजेट पारित गरेको थियो ।