प्याजको मूल्य आकाशियो, व्यापारीले लुकाए प्याज

14

काठमाडौं – भारतले प्याज निर्यात प्रतिबन्ध लगाए लगत्तै नेपाली बजारमा प्याजको मूल्य आकाशिएको छ । व्यापारीहरुले प्याज लुकाउन थालेको भेटिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार कालीमाटी होलसेल बजारमा गरेको अनुगमनका क्रममा व्यापारीहरुले प्याज लुकाउने गरेको भेटिएको हो ।

प्याज आयातमा प्रतिबन्ध लागेसँगै कृतिम अभाव सिर्जना गर्न व्यापारीहरुले प्याज लुकाएको पाइएको हो । दशैं नजिकिएसँगै प्याजमा लागेको प्रतिबन्धको फाइदा उठाउँदै व्यापारीहरुले प्याजको मूल्य समेत वृद्धि गरेका छन् ।

भारतले प्रतिबन्ध लगाएपछि मौज्दातको अवस्था, खरिद र बिक्रीबारे निरीक्षण गर्न ४ टोली होलसेल बजार पुगेको थियो । त्यसक्रममा व्यवसायीहरुले प्याज लुकाएको फेला परेको विभागका निरीक्षण अधिकृत रमेशकाजी श्रेष्ठले बताए ।

कालीमाटी होलसेल बजारमा गरेको अनुगमनका क्रममा अर्याल आलु र प्याज सप्लार्यसले सोमबार १ सय ७ रुपैयाँमा खरिद गरेको प्याज १ सय १० मा बिल काटेको देखिएको उनले बतााए । सोही प्याज आइबार ९५ रुपैयाँमा खरिद गरेर १ सय १० रुपैयाँमा बिक्री गरेको पनि भेटियो,’ उनले भने, ‘ती व्यवसायीले १ सय ५० बोरा मौज्द्धात रहेको बताएपनि थप २ सय बोरा फेला पर्यो ।’

ती व्यवसायीलाई जरिवाना नगरेपनि २४ घण्टे पूर्जीसहित विभागमा उपस्थित हुन निर्देशन दिएको बताए । अनुगमनमा सहभागी उपभोक्ता जागरण अभियान नेपालका कोषाध्यक्ष पार्वती बानियाँले पनि व्यापारीले कालोबजारी गर्ने नियतले लुकाएको बताइन् ।

सोमबार ४ टोलीले जम्मा ८ पसलमा अनुगमन गरेको थियो । भारतको महाराष्ट्र र कनार्टक लगायत राज्यहरुमा प्याज उत्पादनमा कमी आएपछि प्याजको मूल्य आकासिएको छ । भारतमै अपुग भएको जनाउँदै भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले निर्यात नीतिमा संशोधन गर्दै तत्काल लागू हुने गरी प्याजको निकासीमा रोक लगाएको थियो ।
नेपालमा पर्याप्त उत्पादन नहुँदा प्याज र आलु आयातमै निर्भर रहेको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समाचार वर्गहरू