प्रचण्डलाई ‘गैरजिम्मेवार पूर्वाग्रही’ अभिव्यक्ति नदोहोर्‍याउन राप्रपाको चेतावनी

46
फाइल फोटो

काठमाडौँ- नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि ‘तुच्छ, अमर्यादित, बिना प्रमाणको लाञ्छना’ लगाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घोर भर्त्सना गरेको छ ।

‘राप्रपा मुकदर्शक भएर बस्ने छैन,’ भन्दै दाहाललाई यस किसिमको ‘गैरजिम्मेवार पूर्वाग्रही’ अभिव्यक्ति नदोहोर्‍याउन राप्रपाले चेतावनी दिएको छ ।

राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाको अध्यक्षतामा शनिबार केन्द्रीय कार्यालयमा बसेको आन्दोलन परिचालन समितिको वैठकको निर्णयमा यसो भनिएको छ।

आन्दोलन परिचालन समितिको निर्णयमा भनिएको छ, ‘चैत्र १ गते नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजा ज्ञानेन्द्रलाई इंगित गर्दै तुच्छ अमर्यादित, बिना प्रमाणको आरोप लाञ्छना लगाएकोमा राप्रपा आन्दोलन परिचालन समिति घोर भत्सर्ना गर्दछ ।’

‘नेपाली जनता परिवर्तनको पक्षमा देखिएपछि अत्तालिएर पुष्पकमल दाहालले सन्तुलन गुमाएको आम नेपाली जनताले राम्ररी बुझेका छन्,’ राप्रपा आन्दोलन परिचालन समितिको ठहर छ । ‘परिवर्तन देश र समयको आवश्यकता हो, परिवर्तन निश्चित छ ।’

यता सामाजिक सञ्जालमा लेख्दै राणाले प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुनः देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ भन्दै यो परिस्थितिमा सम्पूर्ण देशभक्त राजभक्तहरूमा यस्ता अराजक गतिबिधिबाट प्रभावित नभै संयमतापूर्वक आफ्नो अभियान जारी राख्न अनुरोध समेत गरेका छन् ।

उनले भनेका छन्, ‘माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुनः देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ । यो परिस्थितिमा सम्पूर्ण देशभक्त राजभक्तहरूमा यस्ता अराजक गतिबिधिबाट प्रभावित नभै संयमतापूर्वक आफ्नो अभियान जारी राख्न अनुरोध छ ।’

समाचार वर्गहरू