काठमाडौं – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरू पतित भएर बिकेको आरोप लगाएका छन् ।
शनिबार स्व.बुध्दिबहादुर रायमाझीद्वारा लिखित ‘पञ्चायती जेलमा तेह्र वर्ष’ नामक पुस्तक विमोचन गर्दै ओलीले ‘नेपालमा फैलाइएको वामपन्थी उज्यालोलाई निभाउन प्रतिक्रियावादी शक्तिहरूको मतियार भएर उनीहरू निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनको विरुद्धमा लागेको’ बताएका हुन् ।
कम्युनिष्ट आन्दोलनकाविरुद्ध इतिहासमा कहिँ नदेखिएको अनुशासनहीनता र अराजकता अहिले नेपालमा देखिएको बताउँदै उनले प्रतिक्रियावादी शक्तिको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनको विरुद्धमा लागेको बताए ।
प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिकाबीच उचाईमा पुर्याइएको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने प्रयासस्वरुप पार्टी फुटाइएको आरोप लगाउँदै ओलीले अदालतको फैसला अगावै पार्टी फुटाएर त्यसको दोष अदालतलाई लगाइएको पनि बताए। ‘नेता पतित भएर बिकेपछि आन्दोलन सिध्याउन उध्यत हुने’ उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगत १५ वर्षदेखि जनमानसमा भ्रम छरेको र विभिन्न आरोप लगाएको उल्लेख गर्दै भने ‘प्रचण्डले असभ्यताको र संस्कारहीनताको पराकाष्ठा देखाएका छन् ।’