काठमाडौं – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता आज हुने भएको छ।
निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने कार्यतालिका बनाएको हो।
आज सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।
प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारले वारेसनामा वा प्रतिनिधिका माध्यमबाट पनि मनोनयनपत्र दर्ता गराउन सक्ने भएकाले सोका लागि आधिकारिक पत्र, वारेसनामा र निस्साजस्ता कागजात सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपलब्धसम्म गराएर दल र उम्मेदवारलाई सहजीकरण गर्न आयोग तत्पर रहेको स्पष्ट पारेका छन्।
निर्वाचनका लागि यही असोज २० गतेसम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत ७७ र निर्वाचन अधिकृतको कार्यालय ८८ स्थानमा गरी १६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ।
मनोनयनपत्र दर्ता गर्दा के-के कागजात चाहिन्छ ?
- उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि
- मतदाता नामावलीमा नाम समावेश भएको निस्सा
- प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतदाता
- नामावलीमा नाम रहेको निस्सा
- स्वघोषणा
- दलको उम्मेदवारको हकमा सम्बन्धित दलको औपचारिक पत्र
- धरौटी जम्मा गरेको नगदी रसिद वा बैङक भौचर उम्मेदवारको सम्पत्ति विवरणको सिलबन्दी खाम
- उम्मेदवारको वैयक्तिक विवरण