प्रतिपक्षले प्रधानमन्त्री विरुद्ध भ्रामक प्रचारबाजी गरेको भन्दै माओवादीको आपत्ति

13

काठमाडौं – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रीतम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलबाट भ्रामक प्रचारबाजी गरेको भन्दै आपत्ति जनाएको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बिहीबार विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रमुख प्रतिपक्षको गलत चाहना पूरा गर्ने अभीष्टताबाहेक केही नभएको बताएका छन् ।

‘सरदार सिंहबाट आफूलाई प्रधानमन्त्रीका रूपमा देख्न चाहेको र त्यसका लागि उनले सक्दो योगदान गरेको यथार्थता प्रकट गर्ने प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रतिपक्ष दलको कुत्सित चाहना पूरा गर्ने अभीष्टताबाहेक केही होइन,’ विज्ञप्तिमा उल्लेख छ ।

राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेको महराले बताएका छन् । उनले राष्ट्रियता, गणतन्त्र र जनजीविकाको पक्षमा दृढतापूर्वक उभिन अपिलसमेत गरेका छन् । ‘मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर पटक–पटक संसद् विघटन गर्ने, जनताका मुद्दामा कानुन बनाउन खोज्दा संसद् अवरोध गर्ने, भ्रष्टाचारीको छानबिन र फाइल खोल्दा गैरजिम्मेवार बन्नेजस्ता पात्र र प्रवृत्तिले गर्दा प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझिसकेका छन्,’ महराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा अगाडी भनिएको छ ‘तथापि, पानी धमिल्याएर माछा मार्न खोज्ने’ प्रवृत्ति फेरि पनि ‘के निउँ पाऊँ, कनिका बुकाऊँ’ भनेजस्तै भ्रामक र दुराशययुक्त प्रचारबाजीमा उत्रिएर गरिएका हर्कतप्रति हाम्रो पार्टी घोर भत्र्सना गर्दछ र राष्ट्रियता, गणतन्त्र र जनजीविकाको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति र जनसमुदायमा हार्दिक अपिल गर्दछ ।’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू