प्रदेश लोक सेवा आयोग ऐन पारित

64
फाइल फोटो

(हेटौंडा) – बागमती प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश लोक सेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत पारित गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लोकसेवा आयोग ऐन २०७६ को प्रदेश मामिला समितिको प्रतिवेदनलाई पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा विधेयकमाथि उठेका प्रश्नको जवाफमा मुख्यमन्त्री पौडेलले लोकसेवा आयोगलाई स्वायत, पारदर्शीका साथ आफ्नो जिम्मेवारी बहन गर्न केही सुविधायुक्त सेवाहरु थप गर्नुपर्ने सदस्यको सुझाव अनुरुप समावेश गरिएको हो बताए । उक्त बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशमा युवा परिषद् गठन गर्न बनेको विधेयकलाई पूर्ण छलफलको लागि प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावको विधेयकमाथि सैद्धान्तिक पक्षमा सहभागी हुँदै सदस्यले प्रदेशका युवा समुदायलाई उद्यमशीलता, परोपकारी, दक्ष जनशक्ति उत्पादन गर्ने क्रममा परिषद् गठन गर्दा दलगत स्वार्थभन्दा माथि उठेर युवा समुदायलाई समेटिनु पर्ने सुझावहरु दिए । प्रदेशसभा सदस्यहरुले युवालाई नैतिक शिक्षाको अध्ययन गर्न विपत्को व्यवस्थापनमा तत्काल उद्धार गर्न र गुणात्मक जनशक्तिलाई विकासको पूर्वाधार विकासमा सहभागी गराउने नीतिगत कार्यक्रम समावेश गर्न आग्रह गरेका थिए ।

उनीहरुले प्रदेश सरकारले उक्त ऐनलाई लागुगर्ने क्रममा सबै युवा समुदायलाई योग्यता, क्षमता र प्रतिभाअनुसार निष्पक्षका साथ सहभागी गराउन माग गरे । सामाजिक विकासमन्त्री युवराज दुलालले विधेयकको सैद्धान्तिक पक्षमा उठेको जिज्ञासालाई उत्तर दिँदै सरकारले युवा समुदायलाई गुणात्मक दक्ष जनशक्ति उत्पादन गर्ने र खेलकूद, साहित्य र पत्रकारिताको क्षेत्रको विकासमा नीतिगत कार्यक्रम तर्जुमा गरी आगामी आवमा क्रमशः योजना कार्यान्वयन गर्नेतर्फ लक्ष्य रहेको बताए ।

बैठकको शून्य समयमा बोल्दै सदस्यहरुले मुलुकका विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदेशसभाको अर्को बैठक फागुन १९ गते दिनको १ बजे बस्नेछ । रासस

समाचार वर्गहरू