काठमाडौं – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रदेश सभालाई आफ्नो पहिचान स्थापित गर्ने चुनौती रहेको बताएका छन् ।
संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रमको समापनका अवसरमा सभामुख सापकोटाले नेपालमा प्रदेश सभा पहिलो पटक सुरु भएकोले यसलाई स्थापित गर्ने चुनौती रहेको बताएका हुन् । उनले चुनौती भन्दा अवसर बढी रहेकोमा जोड दिए ।
संघीयताको विरोधमा उठिरहेका आवाजहरुप्रति इंगित गर्दै सभामुख सापकोटाले नियोजित रुपमा प्रदेश सरकार र प्रदेश सभा आवश्यक छर भन्ने विषय उठ्न खोजेको बताए । त्यस्ता चुनौतीलाई राम्रो कामबाट जवाफ दिंदै प्रदेश सभाको पहिचान दिनुपर्ने उनको भनाई छ ।
‘सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्ष कति तटस्थ, कति निष्पक्ष हुन सक्छौं ? हाम्रो तागत त्यसैमा छ । हामी निष्पक्ष र तटस्थ भएर काम गर्न सक्यौं भने हाम्रो सफलता त्यहीा देखिन्छ,’ सभामुख सापकोटाले भने । सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउादै व्यवहारिक कानून बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘कानूनका छिद्रमा खेलेर अपराधीहरु उम्कने अवस्था छ । त्यसैले कानुन निर्माण गर्दा जनमुखी र व्यवहारिक बनाउनुपर्दछ ।’ कानून निर्माणमा आम जनतालाई कसरी सहभागी बनाउन सकिन्छ भन्नेमा सचेत हुनुपर्ने भन्दै उनले सञ्चार जगतले नागरिकलाई सुसूचित गरेर महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।
प्रदेशसँग सरोकार राख्ने ऐन कानूनहरु चाँडो पारित गर्न संघीय संसद्को तर्फबाट आफूले पहलकदमी बढाउने प्रतिबद्धता व्यक्त गर्दै सभामुख सापकोटाले स्थानीय तहको अभिभावकको रुपमा प्रदेशले भूमिका खेल्नुपर्नेमा जोड दिए । विधेयकहरु चाँडो पारित गर्न खोज्दा यसको गुणस्तरीयतामा प्रश्न उठ्न सक्ने भन्दै सभामुख सापकोटाले विधेयक गुणस्तरीय बनाउन र त्यसमा कसैको स्वार्थ नघुसोस भन्नेमा सचेत हुनुपर्ने बताए ।
संसदीय समितिहरुलाई जति सक्रिय बनाउन सक्यो त्यति नै सन्तुलीत कानून बन्ने सभामुखको धारणा छ । संघीय संसद भवनमा आयोजना गरिएको यस कार्यक्रमले संघीय संसद र प्रदेश सभा सञ्चालनका लागि आधार तयार गरेको सभामुख सापकोटाको भनाई छ । संसदलाई जीवन्त र गतीशील बनाउ सबैले आ–आफ्नो तर्फबाट भूमिका खेल्नु पर्नेमा उनले जोड दिए ।