काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेर्ने कथा’बाट सार्वजनिक भएका पात्र भोजपुरका प्रकाश तामाङको नागरिकता बनाउन सहजीकरण गर्न निर्देशन दिएका छन् । गएराति गृहसचिव एक नारायण अर्याललाई बोलाएर प्रधानमन्त्री ओलीले तामाङको नागरिकता बनाउन सहजीकरण गर्न निर्देशन दिएका हुन् ।
गृहसचिव अर्यालले प्रकाशलाई दुई/चार दिनभित्रै नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउने बताएको प्रधानमन्त्री ओलीले बताएका छन् ।
सानैमा हराएर गोरखाको उत्तरी भेग चुम भ्याली पुगेका उनी कथा सुट भएपछि एक पटक घर फर्किए पनि जन्मदर्ता र झापाबाट आएको बसाइसराई नहुँदा नागरिकता बनाउन समस्या भएको थियो ।
बुधबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले नागरिकता बनेपछि बैंक खाता खोल्न र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने बताएका छन् ।
उनले लेखेका छन् ‘हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथीमार्फत् प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन। पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो। प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ। नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई/चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ।’
भिडियो कथा प्रस्तुत गर्ने ‘हेर्ने कथा’ टिमले गएको शनिबार आफ्नो युट्युब च्यानलमा‘हराएका वर्षहरू’ शीर्षकमा प्रकाशको कथा प्रस्तुत गरेको थियो ।
उनी अहिले पुन: चुम भ्यालीमै रहेको हेर्ने कथा टिमले जनाएको छ । ३५ वर्ष घरबार–ठेगानाविहीन भएका प्रकाश ‘हेर्ने कथा’ टिमको सक्रियतामा आफ्नो परिवारलाई भेट्न सफल भएका थिए ।