प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

63

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको लागि सिफारिस गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले जानकारी दिए ।

सत्तारूढ नेकपामा विद्यमान आन्तरिक विवादका माझ प्रधानमन्त्री ओलीले संसद् विघटनको प्रस्ताव लगेका हुन् । आफूलाई पार्टी भित्रबाटै हटाउने तयारी भइरहेका बेला ओलीले संसद् विघटनका लागि राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेका हुन् ।

नेपालको संविधानमा संसद् विघटन सम्बन्धी स्पष्ट प्रावधान छैन । संविधानको धारा ८५ को १ मा ‘यस संविधान बमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधि सभाको कार्यकाल ५ वर्षको हुनेछ’ भन्ने उल्लेख छ ।

यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

समाचार वर्गहरू