काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको विवादास्पद अभिव्यक्ति आलोचनायोग्य रहेको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर विपक्षी दलहरूले बुधबार संघीय संसद्का दुवै सदन अवरुद्ध पारेपछि संसद् भवनबाट बाहिरिने क्रममा महामन्त्री शर्माले प्रधानमन्त्री दाहालको अभिव्यक्ति आलोचनायोग्य भएको बताएका हुन् ।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको प्रष्ट रुपमा विमति रहेको बताउँदै भने ‘प्रधानमन्त्रीले हिजो जे बोल्नुभयो, म सत्तापक्षको एउटा सांसद भए पनि त्यसमा समर्थन जनाउनुपर्छ भन्ने हुँदैन । उहाँले दिएको अभिव्यक्ति आलोचनाका लागि योग्य छ । उहाँले गलत बोल्नुभएको छ । त्यसमा मेरो प्रष्ट रुपमा विमति नै छ,’ उनले भने ।
उनले नेपालको प्रधानमन्त्रीले नेपालको संसदप्रति उत्तरदायी हुनुपर्ने र नेपालको राष्ट्रिय सम्मानलाई अभिवृद्धि गर्न सक्नुपर्ने बताए ।
‘पुष्पकमल दाहाल अहिले तेस्रोपटक प्रधानमन्त्री हुनुहुन्छ । उहाँ प्रधानमन्त्री त संसद्बाटै हुनुभएको हो । तर पहिलो र तेस्रो पटक उहाँ प्रधानमन्त्री हुँदा नेकपा एमालेकै समर्थन थियो । तीनपटक मध्ये दुई पटक उहाँ एमालेकै समर्थनमा प्रधानमन्त्री हुनुभएको हो,’ उनले भने, ‘त्यसैले प्रधानमन्त्रीले पनि संसद्काप्रति राख्ने सम्मान भुल्नु हुँदैन । नेपालको संसदीय परिपाटी, संसदको गरिमालाई वृद्धि गर्ने कुरा, राष्ट्रिय सम्मानलाई अभिवृद्धि गर्ने कुरामा प्रधानमन्त्रीको ध्यान हुनुपर्छ ।’
प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय सरदार प्रितम सिंहले मेहनत गरेको भन्दै केही दिनअघि विवादास्पद अभिव्यक्ति दिएपछि बुधबारको संसद् बैठकमा उनको विरोध गर्दै संसद समेत अवरुद्ध भएको थियो ।