प्रधानमन्त्री ओलीको भेन्टिलेटरमा राखेर उपचार हुँदै, स्वास्थ्य स्थिर

15

(काठमाडौं) – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको बताइएको छ । एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री ओलीको अहिले सघन उपचार भइरहेको छ ।

शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा शल्यक्रियापछि उनको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । स्वास्थ्य गम्भीर भएपछि प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीलाई इलेक्टिभ भेन्टिलेटर (कृत्रिम स्वासप्रस्वास) मा राखिएको छ । सेन्टरका अनुसार शिक्षण अस्पतालका ग्यास्ट्रोइन्टेस्टाइनल तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. रमेशसिंह भण्डारीको नेतृत्वमा शल्यक्रिया गरिएको हो ।

शल्यक्रिया पछि सेन्टरले मंगलबार दिउँसो र राति गरी दुईपटक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य स्थीर रहेको जनाएको छ । चिकित्सकका अनुसार इलेक्टिभ भेन्टिलेटरमा राख्नु भनेको उहाँका अन्य अंगहरुले राम्रो काम गरिरहेको तर, केही सपोर्ट आवश्यक परेकाले राख्नु पर्ने अवस्था हो ।

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस फुटेर संक्रमण फैलिएपछि मंगलबार बिहान शल्यक्रिया गरिएको थियो । अत्याधिक पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई बिहान अस्पताल लगिएको थियो । परीक्षणका क्रममा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस फुटेर शरीरमा संक्रमण भइसकेको थियो । एपेन्डिसाइटिस फुटेर संक्रमण फैलिनु भनेको गम्भीर अवस्था हुनु हो । त्यसपछि चिकित्सकको टोलीले तत्कालै शल्यक्रिया सहितको अन्य उपचार प्रक्रिया अगाडि बढाएका हुन् ।

प्रधानमन्त्रीको शल्यक्रियापछि अस्पतालले जारी गरेको विज्ञप्तिमा पनि सघन उपचारको सम्पूर्ण व्यवस्था सहितको निरन्तर निगरानीमा राखिएको उल्लेख छ । विज्ञप्तिमा प्रधानमन्त्रीको एपेन्डिसाइटिस सहितको पेटको संक्रमण (पेरिटोनिटिस) देखिएपछि तत्काल ल्यापेरोटोमी एन्ड एपेन्डिक्टोमी उपचार गरिएको उल्लेख छ ।

समाचार वर्गहरू