प्रधानमन्त्री ओलीद्वारा संघीय संसद भवनको शिलान्यास

14

काठमाडौं, साझा खवर संवाददाता – प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास गरेका छन् । शहरी विकास तथा भवन निर्माण विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आज भवनको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले संसदीय प्रणालीको राजनीति गरे पनि संसद बस्ने ठाउँ नभएकोे स्थिती अब अन्त्य हुने बताए । करीब ५ अर्ब ३० करोड रुपैयाँको लागतमा तीन वर्षमा निर्माण सम्पन्न हुने यो भवनको निर्माण समय र गुणस्तरीयतामा कुनै सम्झौता नहुने प्रधानमन्त्री ओलीको भनाई छ ।

“निर्माणमा कुनै प्रकारको विलम्ब मान्य हुँदैन । समयभित्र काम सक्नुहोस । गुणस्तरमा सम्झौता हुँदैन ।” प्रधानमन्त्री ओलीले भने, यस भवनमा नेपाललाई अग्रगतिमा लैजाने ठूला निर्णयहरु हुनेछन् । यही भवनबाट धेरैवटा सक्षम सरकारहरु बन्नेछन् भन्ने मेरो अपेक्षा छ ।”

प्रधानमन्त्री ओलीले देश विकासको गतिमा अघि बढीसकेको उल्लेख गरेका छन् । “हामीले डेढ वर्षमा गरेका कामको परिणाम देखिन थालेको छ । अमलेखगञ्ज मोतीहारी पाइपलाइनबाट इन्धन ल्याउने कुरा त्यसको एउटा उदाहरण हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “आगामी चैतभित्र रानी पोखरी निर्माण भइसक्छ । अरु यस्ता थुप्रै ठूला आयोजनाहरु अब निर्माण सम्पन्न भइसक्नेछन् ।”

सरकार सुशासन र भ्रष्टचार विरोधी अभियानमा सक्रियतापूर्वक लागेको प्रधानमन्त्री ओलीको भनाई छ । उनले भने, “हामी भ्रष्टाचार विरोधी अभियान यसरी चलाउँछौं कि यो संसदमा त्यस विषयमा बहस नै गर्नु नपरोस ।” प्रधानमन्त्री ओलीले लोकतन्त्र माथि कतैबाट खतरा आए सरकार सहेर नबस्ने बताए । “लोकतन्त्र माथी खतरा आए सरकार सहेर बस्दैन । संविधान अनुसार जनताको बलिानी खेर जान नदिन हामी सजग छौं” प्रधानमन्त्री ओलीले भने, “हामी लोकतान्त्रिक प्रणालीमा मात्र होइन, लोकतान्त्रिक प्रक्रियामा पनि विश्वास गर्छौं ।”

समाचार वर्गहरू