(काठमाडौं) – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । बुधबार दिनभरको छलफल पछि प्रधानमन्त्री ओलीले नियुक्त हुने मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।
उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् ।
नयाँ मन्त्रीहरुको शपथ ग्रहण बिहीबार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालय शितल निवासले जनाएको छ । प्रधानमन्त्री ओलीले यस अघि बुधबार नै मन्त्रिपरिषद पुनर्गठन हुने जानकारी मन्त्रीहरुलाई गराएका थिए ।
राष्ट्रपतिको कार्यालयले बुधवार राति जारी गरेको सूचना अनुसार ओलीले थप गरेका मन्त्रीहरूमा हृदयस त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ रहेका छन् ।
त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै भुसाल कृषि तथा पशुपन्छी विकास, भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात र गुरुङ, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन् । त्यसैगरी ओलीले तीन जना नयाँ राज्यमन्त्री पनि बनाएका छन् ।
राज्यमन्त्रीहरूमा मोतीलाल दुगडले उद्योग वाणिज्य तथा आपूर्ति, नवराज रावतले स्वास्थ्य तथा जनसङ्ख्या र रामवीर मानन्धरले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिएका छन् । ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै यादवलाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
भौतिक पूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापालाई हटाइएको छ । तीनै जना पूर्व एमालेको कोटाबाट मन्त्री भएका थिए ।
यस्तै कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ । पूर्व माओवादीको कोटाबाट मन्त्री भएका थिए । उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत रहनेछ ।