प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

13

(काठमाडौं) –  स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालले डिस्चार्ज गरेको छ । एपेन्डिसाईटिस भएपछि १० दिनअघि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली आज डिस्चार्ज भएका हुन् ।

शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत ओलीलाई अस्पतालले बिहीबार डिस्चार्ज गरेको हो ।

अस्पतालबाट बाहिर निस्कने क्रममा प्रधानमन्त्री ओलीले सञ्चारकर्मीसँग आफू स्वस्थ भएर घर फर्किएको बताए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अस्पतालले डिस्चार्ज गरेपछि प्रधानमन्त्री ओली बालुवाटार निवासमै आराम गर्ने भएका छन् ।

ओलीको उपचारमा संलग्न चिकित्सकले केही दिन अस्पतालमै राख्ने सोच बनाएपनि उनले निवासमै गएर आराम गर्ने चाहना व्यक्त गरेपछि चिकित्सकहरुले डिस्चार्ज गर्ने निर्णय गरेको अस्पताल बताएको छ ।

पेट दुखेर स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्री ओलीको एपेन्डिसाईटिस फुटेपछि गम्भीर शल्यक्रिया गरिएको थियो । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीलाई अस्पताल बसाईंका क्रममा संक्रमण हुन नदिन चिकित्सकहरुले विशेष निगरानीमा राखेका थिए ।

समाचार वर्गहरू