प्रधानमन्त्री ओली ३१ भदौमा भारत जाने

174
फाइल फोटो

काठमाडौं – सरकारको नेतृत्व गरेको १४ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ३१ भदौदेखि भारत भ्रमणमा जान लागेका ओलीको भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी छ ।

प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार भारतबाट ओलीलाई भ्रमणको निम्तो आइसकेको र भ्रमणको मितिमा पनि सहमति भइसकेको छ ।

असार २०८१ मा ओली प्रधानमन्त्री बनेदेखि नै दिल्ली भ्रमणका लागि प्रयास हुँदै आएको थियो । तर, भारतीय पक्षबाट सकारात्मक जवाफ नआउँदा भ्रमण तय हुन सकेको थिएन ।

यसबीचमा ओली र मोदीबीच विभिन्न कार्यक्रममा भेट भइसकेको छ । ओलीले न्युयोर्क र बैंककमा मोदीलाई भेटेका थिए । गत वर्ष सेप्टेम्बरमा ओली न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा जानुअघि पनि नेपाली पक्षले उनको दिल्ली भ्रमणको प्रयास गरेको थियो ।

प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार भारतले ओलीलाई दुईदिने भ्रमणको निम्तो दिएको छ । जसअनुसार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली ३१ भदौमा दिल्ली जानेछन् । भोलिपल्ट मोदीसँग द्विपक्षीय वार्ता हुने र केही सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

१ असोज (१७ सेप्टेम्बर) मोदीको जन्मदिनसमेत संयोग परेकाले भ्रमणबाट सकारात्मक नतिजा हासिल हुनेमा सरकारी अधिकारीहरू आशावादी छन् ।

भ्रमणअघि नेपाल र भारतबीच द्विपक्षीय संयन्त्रका केही महत्त्वपूर्ण बैठकहरू हुँदै छन् । मंगलबारदेखि नयाँदिल्लीमा गृह सचिवस्तरीय बैठक हुँदै छ । बैठकमा सुपुर्दगी सन्धि र पारस्परिक कानुनी सहायता लगायतका प्रमुख मुद्दाहरू छलफल हुनेछन् ।

समाचार वर्गहरू