काठमाडौं – सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहालविरूद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले रिटलाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न दाहालका नाममा कारण देखाउ आदेश जारी गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
आदेशमा १५ दिनभित्र आफै वा कानुन बमोजिमको प्रतिनिधिमार्फत् सर्वोच्चमा उपस्थित हुनुपर्ने उल्लेख छ।
अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले मंगलबार द्वन्द्वकालीन मुद्दालाई लिएर दाहालविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
शुक्रबार जारी भएको आदेशमा रिट निवेदनमा उठाइएको विषयको महत्व,गम्भीरता तथा सम्वेदनशीलतातर्फ दृष्टिगत गर्दा प्रस्तुत विषयको निरुपण छिटो छरितो रुपमा गर्नु मनासि देखिएकाले सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ (१) बमोजिम अग्राधिकार दिइएको उल्लेख छ।