काठमाडौं – एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेले काँग्रेसको प्रस्तावमा प्रधानमन्त्री बन्न अस्वीकार गरेपछि कांग्रेसले सहकारी प्रकरण ल्याएको बताएका छन् ।
काठमाडौं महानगरपालिका कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा ओलीले आफूले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव नमान्दा उपप्रधानमन्त्री लामिछानेलाई कांग्रेसले सहकारी ठगको आरोप लगाइरहेको र संसद्मा अलोकतान्त्रिक गतिविधि देखाइरहेको बताएका हुन् ।
‘कांग्रेस एउटै मान्छेलाई राति प्रधानमन्त्री बनिदिनुस् डेढ वर्षका लागि भन्न जान्छ । कागज लिएर सम्झौता गरौं भन्न जान्छ, राति । त्यो कागजमा उसले सम्झौता नगरेपछि भोलिपल्ट यो त सहकारीको भ्रष्टाचारी हो भन्दै उफ्रिन्छ । रातिसम्म त्यो मान्छे कांग्रेसको पछि लाग्ने हो भने प्रधानमन्त्री बन्न लायक भयो । कांग्रेसको पछि लागेर प्रधानमन्त्री हुन्न भन्यो भने त्यो मान्छे भ्रष्टाचारी भयो । के भएको हो कांग्रेस ?,’
ओलीले अगाडी भने, ‘संसद् चल्न दिन्न भन्छ, किन ? आफू बोल्छ, अरुलाई आरोप लगाउँछ । आरोपित मान्छेले जवाफ दिन्छु भन्दा जवाफ दिन दिँदैन । बोल्न दिँदैन । आरोप लगाउने, संसद्मा आरोप लगाउने, आरोपको खण्डन गर्छु म, बोल्छु म भन्दा अर्कोलाई बोल्न नदिने ।’