मध्यविन्दु/काठमाडौँ– सरकारले चालु आर्थिक वर्षको पहिलो चरणमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६ सय २३ स्थानीय तहलाई रकम पठाएको छ । सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार पत्रकार सममेलन गरी स्थानीय तहलाई २ अर्ब रकम पठाइएको जानकारी दिएको हो ।
सरकारले यस आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममा ५ अर्ब १ करोड बजेट विनियोजन गरेकोमा ४ अर्ब ८२ करोड ३२ लाख बजेट आयोजना निर्माण तथा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि खर्च गर्ने भएको छ । बाँकी रकम प्रशासनिक खर्च र रोजगार संयोजकको तलबमा समायोजन हुने मन्त्रालयले जनाएको छ ।
विनियोजित बजेटमध्ये माघ मसान्तसम्ममा मन्त्रालयले ६ सय २३ स्थानीय तहलाई न्युनतम १० लाखदेखि अधिकतम ७५ लाखसम्म छुट्याएर बजेट निकासा गरेको हो ।
देशभर करिब १५ लाख युवा बेरोजगार
६ सय ३३ स्थानीय तहबाट प्राप्त तथ्यांकअनुसार हालसम्म १३ लाख ३३ हजार ५ सय ४४ जना युवाशक्ति बेरोजगार रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । बाँकी स्थानीय तहमा अहिले पनि बेरोजगारहरुको सूची तयार पार्ने काम भइरहेको छ । यसवर्ष करिब १५ लाखको हाराहारीको युवाशक्ति बेरोजगार रहन सक्ने मन्त्रालयको अनुमान छ ।