काठमाडौं । यसअघिका विभिन्न राजनीतिक दलका नेताहरूले राज्यको स्रोत–साधनमा व्यक्तिगत लाभ लिएर अपराध गरेको नारासहित सत्तामा भित्रिएकी सुशीला कार्की सत्ताबाट बाहिरिने बेला धन्यवादको बहानामा पुराना राजनीतिक दलका नेताहरूभन्दा फरक तरिकाले लूटपाटमा संलग्न भएकी छिन् ।
सुशासन दिने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तारे होटलमा कार्यक्रम गरेर दुनियाँ हँसाएकै भोलिपल्ट प्रधानमन्त्री कार्की आफ्ना परिवार र आफन्त लिएर सरकारी खर्चमा जुम्लाको चन्दननाथ र मुगुको रारा तालको भ्रमण गरेकी छिन् ।
प्रधानमन्त्री कार्की नेपाली सेनाको हेलिकोप्टरबाट आफ्ना पति र सचिवालय सदस्य लिएर बिहीबार ती ठाउँको भ्रमण गरेकी हुन् । उनले भ्रमणको क्रममा त्यहाँ बैठकसमेत आयोजना गरेर सम्बोधन गरेकी थिइन् ।
अहिलेसम्म चुनाव गराएका कुनै पनि सरकारका प्रधानमन्त्रीले चुनावपछि हेलिकोप्टर लिएर जिल्ला–जिल्लामा धन्यवाद दिन गएका थिएनन् । ‘चुनाव सम्पन्न गरेकामा विज्ञप्तिमार्फत वा देशवासीका नाममा सम्बोधन गरेर धन्यवाद दिन सकिथ्यो’, अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘उहाँले जति नै तर्क गरेर जित्न खोजे पनि चुनावपछि विभिन्न जिल्लाको भ्रमण गरेर धन्यवाद दिनु भनेको राज्यको पैसा दोहन गरेर घुमफिर गर्नु हो ।
देशमा आर्थिक समस्यामा परिरहेको बेला यसरी राज्यकोष खर्च गरेर व्यक्तिगत घुमफिरमा पैसा सक्नु ठीक मानिन्न ।’ फागुन २१ गते अघिको घुमफिरलाई चुनाव केन्द्रित भन्न सकिए पनि त्यसपछि धन्यवादको नाममा हुने घुमफिरलाई कसैले पनि राज्यको कामको लागि घुमेको भन्ने अवस्था छैन ।
तर, पनि प्रधानमन्त्री कार्कीले राज्यकोषको आफूले गरेको दोहनलाई सहज रुपमा लिएकी छिन् । निर्वाचन आयोगले निर्वाचनको अन्तिम मत परिणाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार बुझाइसकेको कारण अब नयाँ प्रधानमन्त्री चयन हुने दिन नजिकिएको छ । कार्की फागुन २१ गते चुनाव नै नलडेको कारण उनी प्रधानमन्त्री चुनिने सम्भावना छैन । उनी अब केही दिनमै सत्ता हस्तान्तरण गरेर बाहिरिनेछिन् ।