काठमाडौँ । काठमाडौँ उपत्यकालगायत देशभरमा कोभिड–१९ को सङ्क्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूगिृह) ले दुई सय आइसोलेसन शय्या बनाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनानुसार अस्पतालले कुपण्डोलस्थित नयाँ भवनमा कोभिड–१९ सङ्क्रमितका लागि छुट्टै शय्याको व्यवस्था गर्ने तयारी गरेको छ ।
नेपालमा कोभिडको सङ्क्रमण शुरु भएपछि अस्पतालले सो भवनलाई सम्भावित सङ्क्रमित र सङ्क्रमितलाई राख्न छुट्याएको अस्पतालका उपनिर्देशक श्रीप्रसाद अधिकारीले बताए । अस्पतालमा अहिलेसम्म सम्भावित संक्रमित भनेर राखिएका एक सयमध्ये एक जनामा मात्रै कोभिड पोजेटिभ आएको थियो । अबको दिनमा सम्भावितलाई थापाथलीस्थित अस्पतालमै अरुभन्दा छुट्टै राखिने अस्पतालले जनाएको छ । उनले भने, “सम्भावित महिलालाई अरुभन्दा छुट्टै राखेर पोजेटिभ आए मात्रै आइसोलेशनमा राखिनेछ ।”