काठमाडौं – सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध २९ वटा उजुरी दर्ता भएका छन् ।
संवैधानिक परिषद्बाट २५ वैशाखमा प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिले १७ जेठमा सार्वजनिक सूचनामार्फत १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार शुक्रबारसम्मको समयसीमाभित्र कार्कीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गर्न २९ वटा उजुरी प्राप्त भएका छन् । कार्कीविरुद्ध पाँचवटा उजुरी इमेलबाट र बाँकी लिखित रुपमा प्राप्त भएको उनले बताए ।
कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले नै सुनुवाइ समिति सचिवालयमा उजुरी दर्ता गराएका छन् । यसैगरी अधिवक्ताहरू यादव कोइराला, अमृत खरेल, ध्रुवबहादुर श्रेष्ठ तथा अभियन्ता रतन भण्डारीलगायतले कार्की प्रधानन्यायाधीश पदका लागि कुनै हालतमा योग्य नभएको जिकिर गर्दै उजुरी दिएका छन् ।
आइतबार वा सोमबार बस्ने संसदिय सुनुवाइ समितिको बैठकले उजुरीमाथि आवश्यक छानबिन तथा उजुरीकर्तासँग छलफल गरेर सुनुवाइ अगाडि बढाउनेछ । सुनुवाइबाट अनुमोदन भए कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन् । यद्यपि, ६५ वर्षे उमेरहदका कारण १९ साउनसम्म मात्रै उनको सेवावधि हुनेछ ।