(काठमाडाैं) – प्रहरीलाई घूस दिन खाेजेकाे आराेपमा अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले एक जना विरूद्ध मुद्दा दायर गरेकाे छ ।
आयोगले काठमाडौंको टोखा नगरपालिका-५ मा रहेको आगमन फुडल्यान्ड एण्ड गेष्ट हाउसकी सञ्चालिका सोममाया राईविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
होटलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाको आधारमा छापा मार्न पुगेको प्रहरीको टोलीलाई नै ५० हजार घूस दिएको आरोपमा उनीविरुद्ध शुक्रबार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यस्तै, सिन्धुलीको साविक जलकन्या गाविसका तत्कालीन सचिव विष्णुप्रसाद भण्डारीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।
गाविसको विभिन्न शीर्षकमा विनियोजित रकम हिनामिना गरेको आरोपमा भण्डारीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता कोइरालाले जानकारी दिए ।
भण्डारीले आव ०७०र०७१ मा तत्कालीन प्राविधिक सहायक (हाल कमलामाई नगरपालिका, ३ नं वडा कार्यालयका वडा सचिव) वीरेन्द्र कुमार देवकोटाको नाममा तीन महिनाको तलब भत्ता बढी भुक्तानी भएको देखाई ५८ हजार ३ सय २९ रुपैयाँ हिनामिना गरेको पाइएकोले उनी विरुद्ध भ्रष्टचारको मुद्दा दायर गरिएको उनले बताए ।