काठमाडौं – नुवाकोटको ककनी गाउँपालिका– ३ गैरापानीका ३२ वर्षीय गोकुल सुनारको प्रहरी लापरबाहीका कारण ज्यान गएको देखिएको छ ।
उनको २८ साउनमा मृत्यु भएको थियो । गोकुलकी आमा ६५ वर्षीया सीता कामीका अनुसार २१ साउनमा गोकुलको गैरापानीका गम्मे सुनार र उनका दुई छोरा पवन र पविनबीच विवाद भएको थियो । विवाद चर्किँदै गएपछि गम्मेका बाबुछोराले गोकुललाई निर्घात कुटपिट गरेका थिए । यही क्रममा पवनको निधारमा चोट लाग्यो ।
खुकुरी प्रहारपछि चोट लागेको भन्दै त्यही दिन प्रहरी बोलाएर गोकुललाई पक्राउ गरियो । तर, प्रहरीले घाइते उनको स्वास्थ्य परीक्षणसमेत नगरी हिरासतमा राख्यो । सोही कारण गोकुलको मृत्यु भएको आमा सीताले बताइन् ।
‘गम्मे मेरा सौतेनी छोरा हुन् । बालुवाको विषयमा गोकुल र गम्मेका छोराबीच विवाद भएछ । उनीहरूले मेरा छोरालाई निर्घात कुटे । यही क्रममा कुटपिटमा संलग्न पवनको पनि निधारमा चोट लागेछ । प्रहरीले पवनलाई उपचार गर्न अस्पताल पठायो । उनको उपचार म आफैँले गरेँ । तर, घाइते मेरो छोरालाई उपचार नगरी तीन दिनसम्म हिरासतमा राखियो । सोही कारण उसको मृत्यु भयो,’ उनले भनिन् ।
सीताले २१ असारमा पक्राउ परेका गोकुललाई २३ गतेसम्म गैरकानुनी ढंगले हिरासतमा राखिएको आरोप लगाइनन् । यस अवधिमा अदालतबाट म्यादसमेत थप नगरिएको उनको भनाइ छ । ‘मेरो छोरालाई २१ असारमा हतकडी लगाएर प्रहरी चौकी लगियो । २३ असार राति १० बजे मोटरसाइकलमा चढाएर घरमा ल्याइयो । पक्राउ गरिएको मान्छेलाई २४ घण्टाभन्दा धेरै अवधि राख्नुपरे अदालतबाट म्याद थप गरिनुपर्ने रहेछ । तर, मेरो छोरालाई न अदालत पेस गरियो, न त म्याद थप नै गरियो । गैरकानुनी ढंगले तीन दिनसम्म हिरासतमा राखियो । सोही कारण उसको मृत्यु हुन पुग्यो,’ उनले भनिन् ।
गैरापानीका स्थानीय मोतीराम भनिने ५६ वर्षीय हर्कलाल सुनारका अनुसार गोकुल र गम्मेका बाबुछोराबीच बालुवा बोक्ने विषयमा विवाद भएको थियो । गम्मे बाबुछोरा कुटपिटमा उत्रिएपछि आक्रोशित बनेको गोकुल घरमा राखिएको खुकुरी लिएर घटनास्थल पुगेका थिए । यही क्रममा गम्मे र उनका दुई छोराले गोकुललाई समातेर मरणासन्न हुने गरी कुटपिट गरेका थिए । निधारमा चोट देखिएपछि पवनलाई उपचारका लागि काठमाडौंस्थित मनमोहन मेमोरियल अस्पताल ल्याइएको थियो । तर, गोकुललाई भने प्रहरी हिरासतमै राखियो । पवनको सबै उपचार मृतक गोकुलकी बहिनी ३१ वर्षीया सीता सुनारले गरेको हर्कलालले बताए । ‘गोकुललाई बाबुछोरा मिलेर कुटे । टाउकोमा चोट लागेका पवनको उपचार काठमाडौंमा गरियो । तर, घाइते गोकुललाई हिरासतमा राखेर गलेपछि मोटरसाइकलमा हालेर घरमा लगेर छोडियो । अत्यधिक दुःखाइले उनको ज्यान गयो,’ उनले भने ।
हिरासतमा राखिएका गोकुलको स्वास्थ्यमा समस्या देखा परेपछि मेलमिलापका लागि भन्दै कोमरी प्रहरी चौकीले २३ साउनमा परिवारका सदस्यलाई कार्यालय बोलाएका थिए । छलफलमा गोकुलीका आमा सीता गएकी थिइन् । घाइते भएका पवनको उपचारमा भएको खर्च बिल पेस गरेपछि मात्रै प्रहरी गोकुललाई हिरासतमुक्त गर्न राजी भएको थियो । २३ साउन ५ बजे दुई पक्षबीच सहमतिपत्रमा हस्ताक्षर भए पनि गोकुललाई भने राति १० बजे प्रहरीले मोटरसाइकलमा चढाएर घर पु¥याएको थियो । आमा सीताका अनुसार गोकुलको घाँटीमा गम्भीर चोट थियो । शरीरभरि नीलडाम थिए । खुट्टा र पैतालामा पनि नीलडाम थिए । ज्वरोले शरीर गलेका थिए । गोकुलको स्वास्थ्य कमजोर देखिएपछि सीताले भोलिपल्ट ककनी गाउँपालिका– ३ का वडाध्यक्ष घननाथ बजगाईंलाई बोलाएकी थिइन् ।
‘गोकुललाई २१ साउनमा पक्राउ गरियो । अदालतको अनुमतिविनै २३ गतेसम्म हिरासतमा राखियो । कुटपिटबाट उनी पनि घाइते थिए । तर, उपचार गर्न लगिएनछ । हिरासतबाट छुटेको भोलिपल्ट म उसको घर पुगेको हुँ । उसको शरीर हेरेँ । घाँटीमा चोट देखिन्थ्यो । शरीर र खुट्टामा पनि डाम थिए । कम्मरभन्दा तलको भागमा पीडा भएको गोकुलले मसँग भनेका थिए । उनको मृत्यु हुनुमा प्रहरीको लापरबाही भएजस्तो लाग्छ,’ वडाध्यक्ष बजगाईंले भने ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाले भने गोकुललाई २४ घण्टा मात्रै हिरासतमा राखिएको दाबी गरे । ‘प्रहरीले जोकोहीलाई २४ घण्टासम्म हिरासतमा राख्न सक्छ । यसमा अदालतको अनुमति लिइरहनुपर्दैन । गोकुललाई पनि २४ घण्टा हिरासतमा राखिएको हो । त्यसपछि दुई पक्षबीच सहमति गराएर घर पठाइएको हो । यसबीचमा मृतकको स्वास्थ्य परीक्षण हुनुपर्ने हो । भएको पनि होला । के भएको रहेछ म बुझौँला,’ उनले भने । नयाँपत्रिका दैनिक