प्राधिकरणका कार्यकारी निर्देशक घिसिङद्वारा आँखा दानको घोषणा

42

(काठमाडाैं) – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दानको घोषणा गरेका छन् । तिलगंगा आँखा अस्पतालमा मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा शनिबार गरिएको सामूहिक श्रद्धाञ्जली–सभामा उनले आँखा दान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले भने, ’हामी विद्युतमा अझै आत्मनिर्भर हुन सकेको अवस्था छैन, तर आँखा सम्बन्धी उपचारमा आत्मनिर्भर छौं, हामीले लेन्स निर्यात गर्छौं, त्यो देख्दा खुसी लाग्छ । बत्तीको उज्यालो देख्न पनि आँखाको आवश्यक पर्छ, आँखा नभइ संसार देख्न सकिंदैन ।’

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले अहिले धेरै मानिसहरुमा देखिएको आँखा दानप्रतिको सकारात्मक सोचको कारणले आँखाको नानी प्रत्यारोपण गरी पुन:दृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरता तर्फ अग्रसर हुँदै गएको बताइन् ।

हालसम्म ७५ हजार भन्दा बढी दाताले मरणोपरान्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् भने झण्डै १५ हजार जनाले आँखाको नानी दान प्राप्त गरी पुन: दृष्टि प्राप्त गरेका छन् ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइतले भने, “२५ वर्ष अगाडि १ जनाबाट शुरु गरिएको आँखा दान आज आएर हजारौं भन्दा बढीले प्रदान गरिराख्नुभएको छ । आँखा बैंकको टिमले शुरुदेखि मिहिनेत गरेर यहाासम्म ल्याइपुर्‍याएको छ ।

अहिलेको स्थितिमा नेपालभरिनै केही मात्रामा पुग्ने आँखा दिन सकेका छौ । हामीले बारम्बार भन्दै आएका छौं आँखादान भन्ने बित्तिकै आँखाको डल्लो झिक्ने होइन, बाहिरको नानी मात्र झिक्ने हो । यसमा धार्मिक, सांस्कृतिक रुपमा अफ्ठेरो केही पनि हुदैन । मृत्युपश्चात झिक्ने हो ।”

आँखाको नानीमा संक्रमण भएर, चोट लागेर, जन्मजात फुलो परेर समयमै उपचार नपाउँदा, अशिक्षा र अज्ञानताको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य परम्परागत उपचारको कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ ।

नेपालमा दृष्टिबिहीन हुनुको दोश्रो प्रमुख कारण आाखाको नानी बिग्रिएर हो । जसको एक मात्र उपचार आँखाको नानी प्रत्यारोपण गरी पुन: दृष्टि दिलाउनु नै हो ।

नेपालमा आँखाको नानीका कारण दृष्टिबिहीन भएका थुप्रै व्यक्तिहरु छन् जो फेरि यो संसार नियाल्ने पर्खाइमा छन् । त्यस्ता व्यक्तिका लागि तपाई हामीले मृत्यु पश्चात आाखा दान गरिदिने हो भने दुई भन्दा बढी दृष्टिबिहीनले यो संसार पुन: देख्न पाउँछन् । त्यस्ता व्यक्तिहरुका लागि नेपाल आाखा बैंकले सुरु गरेको आँखाको नानी संकलन र प्रत्यारोपण सेवा वरदान सावित भएको छ ।

नेपाल आँखा बैंकमा हाल सम्म ७५ हजार भन्दा बढी दाताले मृत्यु परयन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् । झण्डै १५ हजार जनाले आँखाको नानी दान प्राप्त गरी पुन: दृष्टि प्राप्त गरेका छन् । पछिल्लो समयमा आाखा दान गर्न प्रण गर्नेको संख्या दोब्बरले बढेको पाइएको छ ।

विभिन्न कारणवश आँखाको नानी बिग्रिएर दृष्टिबिहीन बनेका व्यक्तिका लागि यसरी संकलन गरिएका नानी प्रत्यारोपण गरिन्छ । सन् १९९४ को सेप्टेम्बर १६ मा नेपाल आँखा बैंकको स्थापना भएपछि नेपालमा पनि यो सेवा सहज भएको हो । आँखा बैंकले मृत्यु पश्चात आँखाको नानी दान गर्ने दाताहरुबाट नानी संकलन, परीक्षण र सञ्चय लगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने गदर्छ ।

सुरुवातको अवस्थामा पशुपतिको आर्यघाट लगायत विभिन्न ठाउँमा गएर आाखा दान सम्बन्धी मानिसहरुमा जनचेतना जगाई यस सम्बन्धी बुझाइन्थ्यो भने अहिले यी सँगै आर्यघाट विद्युतीय शवदाह गृह लगायत काठमाडौंका अस्पताल वीर अस्पताल, त्रि.वि.शिक्षण अस्पताल, गंगालाल मुटु अस्पताल र पाटन अस्पतालमा आाखा बैंकबाट खटाइएका परामर्शदाताहरुले परामर्श तथा जानकारी दिने काम पनि गरिन्छ । जसको माध्यमबाट आँखा दान गर्नेको संख्या बढ्दो क्रममा छ ।

त्यस्तै गरेर स्थानीय आँखा अस्पतालको समन्वयमा मेची, विराटनगर, लाहान, हेटौडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षत्रिय आँखा नानी संकलन केन्द्रहरु स्थापना भई आँखाको नानीहरु संकलन गरिरहेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू