नितान्त एकान्तमा छु म
र सम्झनाको मझेरीमा छौ तिमी
घरी आँखा चिम्लेर,
घरी आँखा खोलेर,
म तिमीलाई नै देखिरहेकी छु
मनका चम्किला आँखाले
हो, हुन तिमी कतै टाढा छौ।
जमिनको सडकबाट
सिमाना नाघेर
असम्भव छ
तिमीलाई भेट्न आउन सक्दिन म
तर सम्झनाको आकाशमार्गबाट
पटक पटक उडेकी छु
र तिम्रो दर्शन गरेकी छु।
कहिले सपनाको यथार्थमा,
कहिले बिपनाको कल्पनामा,
नाकमा आइरहन्छ
तिम्रै तनको पसिनाको सुगन्ध,
आंखामा झुल्किरहन्छ
तिम्रै वदनको सौन्दर्य,
ओठहरु उतिबेलाकै चुम्बनको
मिठासमा छन्
तिमी मेरो प्यारो मान्छे हुनुको
गर्वले उठेको छ मेरो
वक्षस्थल
अहिले पनि लागिरहेको छ
मेरा औंलाहरु तिम्रा केशमा
खेलिरहेका छन् सुस्त सुस्त,
दुबै हातले तिमीलाई नै
अंगालोमा बांधिएका छन् मस्त
मेरो प्रिय मान्छे
हुन त तिमी दूर देशमा छौ,
तर मेरो अनुभुतिमा मेरै साथमा छौ,
हामी पौडी खेलिरहेका छौं
गहिरो प्रेमको,महासागरमा।
रचना : कमला खड्का