(काठमाडौं) – काठमाडाैंमा सम्पन्न प्रेसिडेन्ट कप नेपाल ईन्टरनेशनल सेरिज २०२० को पाँचै विधाको स्वर्ण भारतले आफ्नो पोल्टामा पारेको छ ।
पुरुष एकल तर्फको खेलमा भारतका जुनियर नम्बर एक तथा विश्व जुनियर वरियतामा तेश्रो स्थानमा रहेका मिरबा लुवाङ्गले दुबई ईन्टरनेशलन सिरिजका विजेता प्रिन्स दाहाललाई २१–१६, २१–२३, २१–१५ ले पराजित गर्दै उपाधि उचाले ।
मिरबा भर्खरै बंगलादेशमा सम्पन्न बंगलादेश जुनियर ईन्टरनेशनलका समेत विजेता हुन् । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकल तर्फ भारतकी तस्निम मिरले उपाधि उचालिन् ।
मिरले मलेसियाकी करुपथेभन लेत्शानालाई २१–१७, २१–१४ ले पराजित गरिन् । यस्तै, पुरुष युगल तर्फ आर विकास प्रभु र अरुण कार्तिक केको जोडीले नेपालमा प्रिन्स दाहाल र पेम्बा शेर्पाको जोडीलाई १९–२१, २१–१३४, २१–१६ ले पराजित गर्दै उपाधिलाई उचाले ।
महिला युगल तर्फ ननधा के र सानिया सिकन्दरको जोडीले नेपालका विष्णा विष्ट र प्रश्ना खत्रीको जोडीलाई २१–६, २१–६ ले पराजित गर्दै स्वर्ण हात पारे । यस्तै, मिक्स डबल्स तर्फ भारतका मुरुगप्पा केएस र सानिया सिकन्दरको जोडीले भारतकै आयन रशिद र तस्मिन मिरको जोडीलाई २१–१७, २१–१४ ले पराजित गर्दै उपाधि हात पारे ।
विजयी खेलाडीहरुलाई प्रतिनिधि सभाका सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जून विक नेपाल ब्याडमिन्टन संघका पूर्व अध्यक्ष द्वय प्रकाश बहादुर शाही र रमेश कुमार श्रेष्ठ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघका पूर्व अध्यक्ष शंकरबहादुर सिंह तथा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष लगायत पदाधिकारीहरुले पुरस्कार वितरण गरेका थिए ।