प्रेस प्रतिनिधि प्रमाणपत्र अब हुलाक कार्यालयबाट

23

काठमाडौं – सरकारले प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाईन नवीकरणको अधिकार जिल्ला हुलाक कार्यालयमा प्रत्यायोजन गरेको छ । पत्रकाहरुले अब जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र लिन वा नवीकरण गर्न पाउने भएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बुधबार मन्त्रीस्तरीय निर्णयबाट सूचना विभागका महानिर्देशकमा निहित अधिकार जिल्ला हुलाक कार्यालयलाई प्रत्यायोजन गरेका हुन् ।

छापाखाना तथा प्रकाशन सम्बन्धी नियमावली, २०४९ को नियम (९) मा प्रेस प्रतिनिधिको प्रमाणपत्रको लागि विभागका महानिर्देशक समक्ष निवेदन दिनुपर्ने तथा महानिर्देशकले प्रमाणपत्र दिनसक्ने र ऐ. नियम ११ मा महानिर्देशकले प्रमाणपत्र नवीकरण गरिदिनसक्ने व्यवस्था रहेको छ ।

अब प्रेस प्रतिनिधि प्रमाणपत्र लिन जिल्ला हुलाक कार्यालयमा निवेदन दिनुपर्नेछ । त्यही कार्यालयमा आवश्यक कागजपत्र हेरेर विभागमा पठाउनेछ र प्रेस प्रतिनिधि प्रमाणपत्र पठाउनेछ । यस्तै प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन नवीकरणको अधिकार जिल्ला हुलाक कार्यालयलाई नै दिईको छ ।

नयाँ प्रेस पास तथा अनलाइनको नवीकरण काठमाडौंस्थित सूचना विभागबाट हुँदै आएको छ । नेपाल पत्रकार महासंघले केही दिनअगाडि मन्त्री पार्वत गुरुङलाई भेटेर सामान्य कामका लागि जिल्ला–जिल्लाबाट पत्रकारहरू काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने माग गरेको थियो ।

मन्त्री गुरुङले प्रेस जगत्लाई सहज होस् भनेर जिल्ला हुलाक कार्यालयबाटै नयाँ प्रेस पास लिन तथा नवीकरण गराउन सकिने लगायत व्यवस्था मिलाइएको बताए । समय र आर्थिक भारको झमेलाबाट सञ्चारकर्मीलाई सहजता मिल्ने गरी हुलाक कार्यालयलाई प्रेससँग सम्बन्धित काममा सक्रिय बनाइने बताए ।

छापाखाना तथा प्रकाशन सम्बन्धी नियमावली २०४९ को नियम ९ मा प्रेस प्रतिनिधिको प्रमाणपत्रका लागि विभागका महानिर्देशकसमक्ष निवेदन दिनुपर्ने व्यवस्था छ ।

समाचार वर्गहरू