फागुन महिनामा उच्च ग्यास आयात : कर्मचारी र व्यापारीको मिलिमतोमा बजारमा कृत्रिम अभाव जारी

15

काठमाडौं । गत फागुन महिनामा चालु आर्थिक बर्ष २०८२/८३ कै सबै भन्दा धेरै खाना पकाउने ग्यास (एलपिजी) आयात भएको देखिएको छ । फागुनमा पाँच करोड ११ लाख ९२ हजार २९४ केजी ग्यास आयात भएको छ । जुन अघिल्ला महिनाहरूको तुलनामा सबै भन्दा धेरै हो ।

चालु आवको साउनमा चार करोड ४३ लाख १८ हजार ८९३ केजी, भदौमा चार करोड ७६ लाख ४४ हजार ६४० केजी र असोजमा चार करोड ७४ लाख ७० हजार ९१६ केजी ग्यास आयात भएको थियो । यसैगरी कात्तिकमा चार करोड २६ लाख ८१ हजार ७१५ केजी, मंसिरमा चार करोड ५२ लाख २८ हजार ५१५ केजी, र पुसमा चार करोड ७४ लाख ६० हजार ४३२ केजी ग्यास आयात भएको थियो, माघमा भने चार करोड ६२ लाख ८४ हजार ५७४ केजी ग्यास आयात भएको थियो ।

फागुनमा सबैभन्दा धेरै पाँच करोड ११ लाख ९२ हजार २९४ केजी ग्यास आयात भएको छ । यो गत आवको फागुन महिनाको तुलनामा पनि धेरै हो । गत आवको फागुनमा चार करोड ७७ लाख ५३ हजार ८६१ केजी ग्यास आयात भएको थियो । यसरी बिगतको तुलनामा भन्दा धेरै ग्यास आयात हुँदा पनि बजारमा भने यसको अभाव छ । इरान युद्धका कारण अहिले विश्वमा इन्धन तथा ग्यासको मूल्य बढेको छ । त्यसको आपूर्ति पनि प्रभावित हुने देखिएको छ ।

यद्यपि, नेपालमा त्यसको नियमित आयात भइरहेको छ । जुन बिगतको तुलनामा भन्दा पनि धेरै छ । तर, बजारमा भने यसको अभाव बढ्दो छ । नेपाल आयल निगमले सिलिन्डरमा आधा ग्यास भरेर विक्री वितरण गर्ने नीति ल्याएको छ । तर, पनि ग्यासको समस्या समाधान हुन सकेको छैन । इरान युद्धका कारण भविष्यमा ग्यास अभाव हुने डरमा उपभोक्ताले पनि यसको मौज्दात बढाएका छन् ।

यस्तै, व्यापारीले पनि ग्यास लुकाएर कृत्रिम अभाव बनाएका छन् । अभाव देखाएर उपभोक्ता ठग्ने काम गरेका छन् । ग्यास लुकाउन सकेमा आगामी दिनमा थप नाफा कमाउन सकिने उनीहरुको योजना छ । यी यस्ता प्रवृत्तिका कारण नेपालमा ग्यास अभावको समस्या देखिएको छ ।

समाचार वर्गहरू