काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश हाँक्ने जिम्मेवारी कांग्रेस र आफ्नो काँधमा सफलतापुर्वक निभाउने बताएका छन्।
बुधबार वीरगन्जमा आयोजित कार्यक्रममा उनले विगतझैं देश हाँक्ने जिम्मेवारी फेरि कांग्रेसको काँधमा आए आफूले सफलतापूर्वक निर्वाह गर्ने बताएका हुन्।
पर्सामा कांग्रेसका महान् सपुतद्वय स्वर्गीय आत्माराम ओझा र दुखा सहनीको नाममा पार्टी कार्यालय भवन निर्माण गरेकोमा पर्साको कांग्रेस नेतृत्वलाई उनले धन्यवाद पनि दिए।
सभापति देउवाले आर्थिक र राजनीतिक दृष्टिकोणले पर्सा जिल्ला ऐतिहासिक जिल्ला रहेको बताए। पर्सा जिल्ला देशकै महत्त्वपूर्ण जिल्ला भएको भन्दै उनले राणा र पञ्चायतविरुद्ध कांग्रेसले गरेको सशस्त्र संघर्ष पर्साको वीरगन्जबाटै सुरु भएको स्मरण गरे। ‘देशको अर्थतन्त्र धान्नेमा पनि पर्साकै योगदान छ। विगतमा राणा र पञ्चायतविरुद्ध कांग्रेसले गरेको सशस्त्र संघर्षको बिगुल पनि पर्साकै वीरगन्जबाटै फुकिएको थियो,’ उनले भने।
त्यस्तै संघीय मामिला तथा कानुन मन्त्री अजय चौरसियाले नेपालबाट कुनै पनि शक्तिले कांग्रेस पार्टीलाई सिध्याउन नसक्ने बताए। कांग्रेस र लोकतन्त्रमाथि पटक-पटक आक्रमण भएको भन्दै उनले भने, ‘कांग्रेस शहीदहरूको शहादत र आन्दोलनको जगबाट बनेको पार्टी हो। त्यसैले कसैले पनि सिध्याउन सक्दैन। कांग्रेसमाथि जतिपटक आक्रमण हुन्छ, त्यति नै बलियो र सशक्त भएर जान्छ।’