बंगलादेशका राष्ट्रपति हमिदद्वारा उच्चस्तरीय राजनीतिक भेटवार्ता

15
तस्बिर : राष्ट्रपति कार्यालय

(काठमाडौं) – नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् । हमिदले समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

राष्ट्रपति भण्डारी र हमिदबीच बुधबार भेटवार्ता भएको छ । भेटमा आपसी सम्बन्ध, सहयोग र सहकार्यका विविध आयाममा छलफल भएको थियो । राष्ट्रपति कार्यालय शितलनिवासमा भएको भेटमा दुई देशबीच रही आएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा छलफल हुनुका साथै दुबै मुलुकको आपसी सम्बन्ध मजबुत बनाउने विषयमा विस्तृत कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र बंगलादेश सरकारका उच्च पदस्थ अधिकारीहरु सहभागी थिए । नेपालको औपचारिक सद्भावना भ्रमणको दोस्रो दिन राष्ट्रपति हमिदले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशबीचको घनिष्ठ र परम्परागत सम्बन्धलाई आर्थिक साझेदारीको क्षेत्रमा पनि विस्तार गर्नेबारे छलफल भएको भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । सो क्रममा राष्ट्रपति हमिदले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नेपाल सरकारको लक्ष्यमा बंगलादेशको सधै साथ, सहयोग र सहकार्य रहने बताएका थिए ।

बंगलादेशले उपलब्ध गराउँदै आएका विभिन्न बन्दरगाहको सदुपयोग गर्दै नेपाली उत्पादनलाई बंगलादेशको बजारमा पुर्‍याउने बिषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै, व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, जलमार्ग, हवाई मार्ग, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा सहयोग गर्ने सम्बन्धमा छलफल भएको थियो ।

जलवायु परिवर्तनसहित अन्तर्राष्ट्रिय र क्षेत्रीय चासोका मामिलामा सहयोग सुदृढ तुल्याउने बारेमा पनि विचार आदानप्रदान भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।राष्ट्रपति हमिदले नेपालको जलविद्युत क्षेत्रबाट बंगलादेशले लाभ लिन खोजिरहेको समेत बताएका छन् ।

हमिदले आजै राष्ट्रिय सभा अध्यक्ष गशेणप्रसाद तिमल्सिना, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए । यसैबीच राष्ट्रपति भण्डारीले काठमाडौंको एक होटेलमा आयोजना गरिएको रात्रीभोजमा पनि हमिद सहभागी भएका थिए । नेपालको ४ दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका राष्ट्रपति हमिद भोलि पोखरा जाने कार्यतालिका छ ।

समाचार वर्गहरू