बंगलादेशका राष्ट्रपति हमिद स्वदेश फर्किँदै, विमानस्थल आधा घण्टा बन्द हुने

12

(काठमाडौं) – बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद स्वदेश फर्किँदा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । नेपालको चार दिने भ्रमणका लागि गत मंगलबार नेपाल आएका हमिद शुक्रबार अपराह्न करीब पाँच बजे स्वदेश फर्किँदैछन् ।

उनी बंगलादेशको राजधानी ढाका उड्नुअघि शुक्रबार अपराह्न चार बजे ४० मिनेटदेखि ५ बजेर १० मिनेटसम्म अन्य सबै उडान तथा अवतरण बन्द गरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

स्वदेश फर्किनुअघि राष्ट्रपति हमिदले चन्द्रागिरि हिल्स र पाटन दरबार स्क्वायर अवलोकन गर्नेछन् । गत मंगलबार नेपाल आएलगत्तै भक्तपुर दरबार स्क्वायर भ्रमण गरेका उनले बिहीबार पोखरा भ्रमण गरेका थिए ।

पोखरा भ्रमणका लागि पुगेका उनलाई विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए ।

चारदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका बंगलादेशका राष्ट्रपति हमिदलाई त्रिभुवन विमानस्थलमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो । राष्ट्रपति हामिदलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् ।

नेपाल बसाइँको क्रममा राष्ट्रपति हमिदले समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

समाचार वर्गहरू